

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको राजनैतिक तथा सांगठनिक प्रतिवेदन ।
२०८१ असार ८ र ९ गते ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौ राष्ट्रिय महाधिवेशनका बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष ज्यु, प्रमुख अतिथि कमरेड, संस्थापक अध्यक्ष, सदस्य एवं पूर्व अध्यक्षज्यूहरु, अन्य अतिथिज्यू हरु सल्लाहकार कमरेडहरु, आयोजक समितिका कमरेडहरु, सम्पुर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुमा हार्दिक अभिभावादन सहित फ्याफुल्ला । लालसलाम ।
साथै वर्गिय मुक्ति र जातियमुत्तीको लागि आफ्नो जीवनको आहुति दिनुहुने महान सहिदहरु मोर्चाको केन्द्रिय सस्थापक क.विरबहादुर मोक्तान, क. रुद्र बहादुर पाख्रिन, उपाध्यक्ष क.बाबुराम योञ्जन तथा क.दिलमाया बम्जन, क. गोविन्द घले तामाङ, क.च्याङबा लामा, क.मिनबहादुर गोले, क.जितेन्द्र तामाङ, क.उर्मिला डिमडुङ विहानी लगायतका वीर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ । साथै वेपत्ता योद्दाहरु क.पाल्साङ लामा, क. बद्धि बहादुर तामाङ, क.तारामान तामाङ, क.ईश्वर लामा, क. कान्छालाल तामाङ (फाइगम) लगायतका बेपत्ता योद्दाहरुप्रति उच्च सम्मान ब्यक्त गर्दै घाइते अपांग कमरेडहरुको शीघ्र स्वास्थ्य लाभ र दीर्घजीवनको कामना सहित सम्मान प्रकट गर्न चाहन्छु ।
परिचयः
हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)को जातिय मोर्चाहरु मध्ये एक तामाङ राष्ट्रिय मुक्तिमोर्चा, नेपाल हो । हाम्रो संगठनले माउ पार्टीले आत्मसात् गर्दै आएको वैचारिक आधार मार्क्सवाद, लेनिनवाद, माओवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्दै आएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेको वैचारिक आधारहरु नै हाम्रो मोर्चाको मूल मार्गदर्शक सिद्धान्त हो । उल्लिखित वैचारिक आधार भित्र रहेर प्राप्त उपलब्धिको रक्षा र बाँकी उपलब्धि प्राप्तिको निम्ति न्यायप्रेमी तामाङ जनसमुदाय एकढिक्का भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हाम्रो बीचमा छ ।
पार्टीको आठौँ महाधिवेशनले निर्धारित गरेको ।।।नेपाली विशेषताको समाजवाद’को सेरोफेरोमा रहेर हाम्रो मोर्चाले आफ्नो आगामी कार्यभार अगाढि बढाउनुपर्ने जिम्मेवारी छ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र सम्म ल्याउनका लागि न्यायप्रेमी तामाङ जनसमुदायले १० वर्षे महान् जनयुद्धमा निर्वाह गरेको भूमिका आफैमा गर्विलो छ । ।।।नेपाली विशेषताको समाजवाद’को बाटोमा अगाडि बढ्दै सामाजिक रुपान्तरणको यात्रालाई अझ फराकिलो बनाउनका लागि तामाङ समुदाय अग्रमोर्चामा देखा परेर मात्रै हाम्रो समुदायले बाँकी उपलब्धि प्राप्त गर्न सकिन्छ । जब समाजवादी आन्दोलन सफलतामा पुग्छ, तब मात्रै वर्गीय मुत्ति सम्भव हुन्छ, त्यही वर्गीय मुक्तिसँगै हामी उत्पीडित जातिले परिकल्पना गरेको मुक्ति सम्भव छ भन्ने मुल भावका साथ हामी यो सातौँ राष्ट्रिय महाधिवेशन सफलताको बिन्दुमा अगाडि बढिरहेका छौँ ।
आदरणीय कमरेडहरु,
तामाङ समुदाय नेपालको क्षेत्री, बाहुन, मगर र थारु जाती पछि पाँचौ ठुलो जनसंख्याको रुपमा र आदिवासी जनजातिमा मगरपछि दोस्रो जनसंख्या ओगटेको समुदाय तामाङ जाति हो । काठमाण्डौ उपत्यकाको वरिपरि जिल्लाहरुमा विशेष बहुल्यता रहेकोमा देशका पुर्व पश्चिमका अन्य जिल्लाहरुमा सामान्य बसोबास रहेको तामाङ समुदाय नेपालको सुचिकृत आदिवासी जनजातिहरु मध्ये एक हो । आफ्नो निश्चित भाषा, संस्कार, संस्कृति, धार्मिक, आस्था र कविला गणराज्यको शैलीको जीवन पद्धतीबाट विकसित हदै आएको समुदाय काठमाण्डौ उपत्यकाको वरिपरि परापुर्वकालदेखि घना बस्तीको रुपमा बसोबास गर्दै आएको छ । देशको कुल जनसंख्याको करिब ६ प्रतिशत जनसंख्या ओगटेको तामाङ समुदाय साँस्कृतिक रुपमा अत्यन्तै धनी समुदाय भएता पनि राजनैतिक, शैक्षिक, प्रशासनिक रुपले निकै नै पछाडी परेको समुदाय हो । वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार तामाङ जनसंख्या पहिचान विहिन प्रदेशमा तामाङ जातीको जनसंख्या निम्नानुसार रहेको छ । कोशी प्रदेशमा २,२८,८३८, मधेश प्रदेश १,२२,१९५,
बागमति प्रदेशमा १२, १६,४१७, गण्डकी प्रदेश ४०,३५९, लुम्बीनी प्रदेशमा ७,८३९, कर्णली प्रदेशमा ५,३३८ र सुदुरपश्चिम प्रदेशमा ९,७८१ जनसंख्या रहेको छ । नेपालको तामाङ जातीको कुल जनसख्या १८ लाखको हाराहारीमा रहको छ । तामाङ समुदायको आफ्नो छुट्टै तामाङ भाषा रहेको छ । धर्ममा बोन र बौद्ध धर्मलम्वी रहेको पाईन्छ ।
तामाङ समुदाय पूर्वका राई लिम्बु र पश्चिमका मगर गुरुङ लगायतका अन्य जाति भन्दा अधिक रुपमा उत्पीडिनमा परेको समुदाय हो । नेपालको संविधान २०७२ को संविधानको प्रस्तावनामा उल्लेखित भए अनुसार सार्वभौम अधिकार, स्वायत्त स्वशासनको अधिकारलाई आत्मसात गरिएता पनि आजको दिनसम्म पनि तामाङ समुदाय निरपेक्ष ६१% गरिबीको रेखामुनी रहेको छ । ४९ भन्दाबढी आदिवासी जनाजातिहरुको बसोबास गरिएको मध्ये तामाङ जाति एक प्राचिन आदिवासी जनजाती हो । यस जातिको परम्परागत बसोबास नेपालको पश्चिममा बुढीगण्डकी, पूर्वमा लिखु खोला, दक्षिणमा चुरेपर्वत श्रृंखला र उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बतको सिमाना विच रहेको भुभागमा तामाङ समुदायको घना बस्ती रहेको छ । साथै नेपाल बाहिरका देशहरु भारतका सिक्किम, दार्जलिङ, आसाम, नागाल्याण्ड, अरुणाञ्चल प्रदेश, हिमाञ्चल प्रदेश, भुटान, बर्मा र थाईल्याडमा समेत बाग्लो बसोबास रहेको पाईन्छ । पहिचान विहिन प्रदेशहरु बगमति प्रदेश स्थित (ताम्सालिङ प्रदेश)मा तामाङ समुदायको सबैभन्दा बढी जनसंख्या रहेको छ । यिनै उत्पीडित तामाङहरुको राजनैतिक अधिकारलाई स्थापित गर्दै देशभरिका आम तामाङहरुलाई संगठित गरि पूर्ण ताम्सालिङ सहितको स्वायत्त स्वशासन प्राप्त गर्ने उद्देश्यले संघर्षलाई अझै अगाडी बढाउनको निम्ति तामाङ मोर्चालाई व्यवस्थित ढंगले आगाडि बढाउँदै यसको मुल नेतृत्व हाम्रो संगठनले लिनुपर्ने चुनौती सँगसँगै अवसर पनि हामीसँग छ ।
इतिहासको समीक्षा ः
नेपालको वर्ग संघर्ष भित्र जातिय मुत्ति आन्दोलनलाई सशक्तताका साथ नेतृत्व गरदै आएको तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल आफ्नो २६ बर्ष लामो इतिहास बोकेर अझै संघर्षको मैदानमा डटिरहेको छ । १० वर्षे महान् जनयुद्ध भित्रको विचार संघर्ष र त्यस बाहिरको वर्गीय एवं जातिय संघर्षमा पनि अविच्छिन्न रुपले क्रान्तिकारी विचारको पक्षमा दृढता पुर्वक उभिदै आएको हाम्रो मोर्चामा विभिन्न समयमा विभिन्न खाले उतरचढावहरु आए । इतिहासतिर फर्केर हामीले गर्वका साथ भन्नुपर्छ, महान् जनयुद्धमा हाम्रो समुदाय अग्र मोर्चामा थियो । हाम्रो समुदायबाट सयौँको संख्यामा हाम्रो नेतृत्व र योद्धाहरुले बलिदान गर्नुभएको छ । त्यही बलिदानको जगमा हामी आजको परिवेशमा प्राप्त उपलब्धि सम्म आइपुगेका छौँ ।
हुनत हामीले जनयुद्धमा हाम्रो सहभागितालाई उत्साहजनक र सशक्त बनाएकै हो । जनयुद्धको भीषण लडाईको बेला हाम्रा नेतृत्व र योद्धाहरुले मधेसका विभिन्न बस्तीदेखि उपत्यकासहितका सहरमा पनि आफ्नो हस्तक्षेपकारी भूमिका बढाएकै हो । तर, उल्लिखित क्षेत्रमा हाम्रो समुदायको उपस्थिति न्युन हुनुको परिणाम दोश्रो संविधानसभाको निर्वाचनले देखायो । त्यही परिणामको निरन्तरताले हाम्रो समुदाय राज्यको नेतृत्व लिनबाट केही पछि परेको सत्य हो । जसको कारणले हामीमा केही निरासा र कुन्ठा अवश्य पलायो । हामीले हाम्रो समुदायको बाहुल्यता रहेको बागमती प्रदेशलाई समेत ताम्सालिङ प्रदेश बनाउन सकेनौँ । यसको कारण यतिमा मात्रै सीमित छैन । एकातिर जातीय अधिकार मात्र भए पुग्छ भन्ने अतिवादी चिन्तन, अर्कोतिर उच्च जातीवादी प्रवृत्तिका कारण हामीले हाम्रो प्रदेशको नामकरण ताम्सालिङ गर्न सकेनौँ । उच्च जात्तीय अहंकारवादी प्रवृत्ति हावी हुँदा पहिचान सहितको नामकरण गर्दा सर्वस्व गुम्छ भन्ने अतिवादी सोच पनि हामीले नामकरणको सन्दर्भमा देख्यौँ । हामी के कुरामा सचेत हुनु पर्छ भने यी अतिवादी सोच र चिन्तनबाट मुक्त भई क्रान्तिकारी सोच र विचारसहित हामीले हाम्रो एजेण्डालाई स्थापित गर्ने दायित्व पनि फेरि हाम्रै संगठनको काँधमा छ । तत्कालका लागि ताम्सालिङ नाम’ हामीले प्राप्त गर्न नसके पनि हाम्रो एजेण्डा, हाम्रो भूगोल जिवित छ । यही कुराले पनि हाम्रो संघर्ष र लडाइ अझै बाँकी छ भन्ने देखाइरहेको छ ।
यद्यपी हाम्रो लक्ष्यको यात्रामा कहि पनि हामी चुकेका छैनौ र चुक्ने पनि छैनौ । तामाङ समुदायको अधिकार प्राप्तिको संघर्षमा र हरेक आदिवासी जनाजाती आन्दोलनहरुमा हाम्रो मोर्चा अग्रपंतिमा नै रहँदै आएको छ । हाम्रो जीवन संघर्षको ईतिहास त्याग र बलिदानको इतिहास हो । यो हलमा उपस्थित सबै कमरेडहरुको जीवन मुलतः नाफाको जीवन हो । हाम्रो संघर्षलाई अझ प्रभावकारी र मजबतु बनाउनका लागि २०5४ साल मंसिर ४ गतेको दिन क. कुमार योञ्जन तामाङको नेतृत्वमा गठन भएको यो मोर्चा हाल सम्म हाम्रा आदरणीय नेताहरु गंगाबहादुर तामाङ, हितबहादुर तामाङ, सूर्यमान दोङ, स्व. कमानसिं लामा, पुनः सूर्यमान दोङकै नेतृत्वहरुबाट यस मोर्चालाई हामीले अगाडी बढाउदै आएका छौँ ।
आदरणीय कमरेडहरु,
मुलतः वर्ग संघर्षमा बलिदानीपुर्वक भुमिका निर्वाह गर्दै आएका तामाङ मोर्चा शान्ति प्रक्रिया प्रवेशसँगै लाखौ लाख तामाङ समुदायको ढुकढुकीको रुपमा स्थापित हुन सक्नु हाम्रो निम्ति गौरवको कुरा हो । देश भित्र मात्र नभएर विश्वभर छरिएर रहेका तामाङ समुदायबीच स्थापना गरिएको मुल्य मान्यता मोर्चाले प्रस्ताव गरिएका राजनैतिक मुद्दाले निकै ठुलो चर्चा पाउनु सामान्य विषय होइन । तामाङ समुदायको नाममा सिमित सामाजिक आन्दोलनमा अल्मिलिएर रहेका तामाङ संघ संस्थालाई आफ्नो स्वायत्तता पहिचान ताम्सालिङ सहितको आत्म निर्णयको अधिकारको बारे प्रशिक्षित तुल्याउँदै मुलतः राजनैतिक मुद्दा तर्फ केन्द्रिकृत गर्न सक्नु नेपालमा कृयाशिल राजनैतिक दलहरुमा आस्था राख्ने तामाङ समुदायलाई मोर्चाको एजेण्डा आकर्षित गर्दै संम्बन्धित दलहरुमा समेत तामाङ समुदायको राजनैतिक संगठन निर्माण गर्न बाध्य पार्न सक्नु र तामाङ समुदायमा ताम्सालिङ सहितको संघियता आवश्यक छ भन्ने कुराको सचेतना फैलाउँदै आन्दोलित बनाउन सक्नु यो मोर्चाको राजनैतिक नेतृत्वको ठुलो उपलब्धी हो । आज देशमा जसरी संघीयता, धर्मनिरपेक्षता, समानुपातिक सामावेशिता लगायतका उपलब्धि प्राप्त भएको छ, संविधानमा लिपिबद्ध गर्न हामी सफल भएका छौँ, प्रथमतः त्यसको रक्षा गर्दै थप उपलब्धि प्राप्तिको लागि तामाङ समुदायलाई अझ संगठित गनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ ।
वर्तमान संविधानले स्वायत्तता र स्वशासन समाजवाद उन्मुख भनिएता पनि व्यवहारत तामाङ समुदायले अनुभुत गर्न पाएका छैनन् । आन्दोलनको भूमरीमा हामीले हाम्रो समुदायसँग गरेको वाचा अझै पूरा भएको छैन । त्यसैले पनि विचार, राजनीति (मार्क्सवाद, लेनिनवाद, माओवाद) र कार्यदिशामा स्पष्ट हुँदै बाँकी उपलब्धि प्राप्तिका निम्ति हाम्रो मोर्चाको निरन्तरताको आवश्यकता देखिन्छ ।
वर्तमान अवस्था र चुनौतीबारे
नेपालको संविधान २०७२ जारी भएयता हालसम्म मुलुकमा दुईपटक संघीय संरचनाको तीन तहकै आम निर्वाचन सम्पन्न भइसकेको छ । नेपालको संविधान २०७२ ले तामाङ लगायत सम्पूर्ण उत्पीडित वर्ग जाति, क्षेत्र, लिङ्गको मागलाई पूर्ण रुपले सम्बोधन गरेको छैन । हामीले चाहेको ताम्सालिङ सहितको स्वायत्तता, आत्मनिर्णयको अधिकार, जातिय जनसांख्यिक अनुपातको आधारमा राज्यका सबै अंग तथा निकायहरमा समावेशि, समानुपातिक प्रतिनिधित्वको सहभागिताको सुनिश्चितता, पूर्ण धर्म निरपेक्षता, प्राकृतिक स्रोत र साधनमाथि आदिवासी जनजातिको अग्रअधिकारबारे संविधानमा जुन तरिकाले सम्बोधन हुनुपर्थ्यो, त्यो भने पक्कै भएको छैन । जसको परिणाम स्वरुप पश्चिमको थारुहट आन्दोलन देखि पूर्वमा पहिचानवादीहरुको आन्दोलन उठेको कुरा जगजाहेर नै छ । यसले हामीलाई पहिचानको आन्दोलनमा लामबद्ध हुनका लागि पक्कै पनि प्रेरित गरेको छ ।
यो संविधानले पहिलो संविधान सभाले सर्वसम्मत् पारित गरेको समानुपातिक समावेशीको अधिकार, भाषिक एवम् साँस्कृतिक अधिकार मातृभाषा प्रयोगको अधिकार, स्वायत्तता र स्वशासित भएर रहने अधिकार खोस्ने काम गरेको छ । मातृभाषाको माध्यमबाट उच्च शिक्षा हासिल गर्न पाउने अधिकार दिएको छैन । पुनः जनता–जनताबिच द्वन्द्ध सिर्जना गराई अन्ततः संघीयता नै गलत रहेछ भनी सावित गराउने उद्देश्यले फ्रदेशहरुको नामाकरण गरिएको अवस्था छ । सिंगो तामाङ समुदायको साँस्कृतिक एवम् राजनीतिक अस्तित्वलाई समेत अपमान हुने गरी राष्टिय जनावर गाई’ राखिएको छ । अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख समुदायको विशेष संरक्षित क्षेत्र उल्लेख भएता पनि आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयनमा लगिएको छैन । यी माथि उल्लेखित विषयहरुलाई हेर्दा हाम्रो लडाई अझै बाँकी छ भन्ने कुरा झन् स्थापित भएको छ । साथै यहीँ नेर इतिहासले हामीलाई के स्मरण गराउँछ भने २००७ सालमा उठेको संविधानसभाको मुद्दा त्यो युगले बुझेन । जसलाई बुझ्न जनतालाई ६ दशक लाग्यो । ०3६ सालमा उठेको गणतन्त्रको आन्दोलनलाई तात्कालिन राजनीतिक नेतृत्वले राजा समक्ष संझौता गरी टुंग्यायो, जुन कुरा जनताले बुझेन । त्यहि कुरा बुझाउन हामीले १० वर्ष महान् जनयुद्व लड्नुपर्यो । त्यसैगरि ०६० को दशकमा उठेको पहिचान, स्वायत्तता र ताम्सालिङ प्राप्तिको आन्दोलनमा तत्कालीन राजनैतिक नेतृत्वले सही समयमा सही निर्णय लिन नसकेको करण हाम्रो मुद्दा आज पर्यन्त अधुरै रहन पुग्यो ।
आदरणीय कमरेडहरु,
यति हुँदा हुदै फेरि पनि हामीले भन्नै पर्दछ कि यो संविधान हाम्रो कठिन प्रयत्नका कारण जारी भएको हो । यसले पुरातन हिन्दु एकात्मकताबादी राजतन्त्रलाई पुर्णतः विस्थापित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरिएको छ । दश बर्षे महान् जनयुद्ध, ०६२/०६३ को १९ दिने जनआन्दोलन एवं सम्पुर्ण आदिवासी जनजाति आन्दोलनहरुको मुद्धाहरुमा नै टेकेर यो संविधानको धारा उपधाराहरु निर्माण भएको छ । यसको रक्षा र कार्यन्वयनमा अवरोध आउन नदिन हाम्रो भूमिकाको निर्णायक महत्व रहन्छ । साथै विश्वभर असफल भईरहेको संसदीय पुजीवादी लोकतन्त्र होइन कि यो देशमा बसोबास गर्ने संम्पुर्ण आदिवासी जनजाति, मधेशी, सिमान्तकृत, अल्पसंख्यक, समुदायको समावेशी तथा सहभागितामुलक लोकतन्त्रको स्थापना र त्यसको सुदृडिकरण सँगै नेपाली विशेषताको समाजवाद’को बाटाो मार्फत् पूर्ण ताम्सालिङ सहितको स्वायत्तता एवं सामाजिक न्याय र समतामुलक समृद्व नेपाल निर्माण गर्ने लक्ष्यलाई प्रस्थान विन्दु बनाउनु तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको आजको मुख्य कार्यभार हो ।
३. संगठन बारे ।
यो बीचमा माउ पार्टी मूख्यतः टुटफुट र अन्तरविरोधहरुमा नै केन्द्रित रह्यो । यसको प्रत्यक्ष असर हाम्रो संगठनमा पनि पर्यो । जसको कारणले गर्दा हाम्रा भेला, बैठक प्रभावकारी हुन सकेन । तर, यहीबीचमा २०७३ साल साउन २९ गते ललितपुरमा धुव्री करण प्रक्रियामार्फत् संगठनमा जोडिएका कमरेडहरुबीचको एकता सम्मेलन सम्पन्न गर्यौँ । जसकारणले ७ औँ राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा ढिला भएको सर्वविदितै छ | यद्यपी सातौँ राष्ट्रिय महाधिवेशनको तयारीको सन्दर्भमा भएका भेला, बैठकदेखि महाधिवेशनसम्म आइपुग्दा देशभरका कमरेडहरुमा एउटा उत्साह पैदा भएको छ ।
अब हामी यो सातौ राष्ट्रिय महाधिवेशन मार्फत् यो उत्साहपूर्ण संगठनको जगमा टेकेर बाँकी उपलब्धि प्राप्तिको लागि नेपाली विशेषताको समाजवादी बाटोको अग्रमोर्चामा देशभरका तामाङ समुदायलाई संगठित गर्दै फेरि एक पटक वैचारिक र सांगठिक रुपमा हाम्रो संगठनले नेतृत्वदायी भूमिका खल्नु पर्ने आबश्यकता आइपरेको छ ।
हाम्रो संगठनको पछिल्लो विवरण यसप्रकारको रहेको छ ।
जम्मा सदस्य संख्या ः १ लाख ६० हजार, केन्द्रीय आयोजक समिति ः १७४ जना, प्रदेश समिति ः
बागमती प्रदेश समिति संख्या ः ४४ जना,
जिल्ला समन्वय समिति ः ३४ वटा, गाउँपालिका स्तरीय कमिटि ः ८२ वटा, नगरपालिका स्तरीय कमिटि ः २७ वटा, उपमहानगरपालिका स्तरीय कमिटि ः २ वटा, महानगरपालिका स्तरीय कमिटि ः १ वटा |
४. आगामी कार्ययोजना बारेः ।
क. २०८१ साल असार १० गतेदेखि मंसिर ०४ गतेसम्म समुदायसँग तामाङ मोर्चा’ अभियान चलाउने । अभियानको क्रममा प्रदेशदेखि वडा स्तरसम्मका भेला, बैठक, संगठन गठन, पुनर्गठन गर्ने ।
ख. विश्व भाषा क्याम्पसमा तामाङ भाषा कक्षा स्थापनाको लागि आवश्यक पहलकदमी लिने ।
ग. एकात्मक शासन प्रणालीका कारणले गर्दा तामाङले अन्य थर लेख्दा बाध्य पारिएकाले हाल तामाङ लेख्ने लेखाउने वातावरणको लागि सरकारसँग पहल गर्ने ।
घ. बागमती प्रदेशलाई नेवा–ताम्सालिङ फ्रदेश नामकरणका लागि संयुक्त आन्दोलन गर्ने । संयुत्त ताम्सालिङ संघर्ष समितिलाई सशक्त बनाउनका लागि घच्घच्याउने ।
च. विचार, ऊद्देश्य र लक्ष्य मिल्ने जातीय संगठनहरुसँग संयुक्त मोर्चा निर्माण गर्दै आन्दोलनलाई स-शात्त बनाउने ।
छ. तामाङ मोर्चालाई राजनैतिक वैचौरिक र सांगठनिक रुपमा क्रियाशील बनाउन देशभरी प्रशिक्षण चलाउने ।
ज. विभिन्न तामाङ संघ संस्थाहरुलाई मोर्चाको नेतृत्वमा परिचालन गर्ने ।
झ. संविधानमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बाँकी उपलब्धिका लागि संघर्ष गर्ने ।
थुजेछे ।
सुर्यमान दोङ (तामाङ)
केन्द्रीय संयोजक

