काठमाडौं । तामाङ संगीतको इतिहासमा अमर बनेको गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ शैली, आधुनिक प्रस्तुति र सांगीतिक ताजगीका साथ पुनः सार्वजनिक भएको छ। २०५४ सालमा ‘सेम’ एल्बममा समावेश भई अत्यन्त लोकप्रिय बनेको यस गीतलाई नयाँ पुस्ताका लागि पुनः जीवन्त बनाइएको हो।
गीतमा लाल बहादुर योञ्जनको शब्द, वरिष्ठ संगीतकार भरत योञ्जनको संगीत, र यस नयाँ संस्करणमा वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ र The Voice of Nepal Season 5 का फर्स्ट रनर-अप मकर योञ्जनको उत्कृष्ट स्वर रहेको छ। उल्लेखनीय कुरा के हो भने गीतको पहिलो रेकर्डिङमा पनि इन्दिरा गोले गुरुङसँगै वरिष्ठ गायक लाल बहादुर योञ्जनकै स्वर रहेको थियो।
‘जत्तुकु मुबा, आङीला जामे’ गीत तामाङ समुदायको मौलिक संस्कृति, पारम्परिक प्रेमभाव र पहिचान बोकेको अमूल्य धरोहर हो। शब्द, लय र प्रस्तुति मार्फत यसले तामाङ समाजको जीवनशैली, सांस्कृतिक समृद्धि र भावनात्मक गहिराइलाई प्रभावकारी रूपमा चित्रण गर्छ।
गीतको अफिसियल म्युजिक भिडियो चाँडै Shree Music युट्युब च्यानलमार्फत सार्वजनिक हुने तयारी गरिएको छ। निर्देशक सुन्दर योन्जनको कुशल निर्देशनमा निर्माण भएको भिडियोमा कुनसाङ बम्जन र अम्बिका तामाङको आकर्षक अभिनय प्रस्तुत गरिएको छ। उनीहरूको पारम्परिक तामाङ पहिरन र सांस्कृतिक मुद्राले भिडियोमा मौलिकता थपेको छ।
भिडियो छायांकन, सम्पादन र रंग संयोजनमा सुन्दर भोंजन, कोरियोग्राफी युद्ध लामा, र मेकअप आर्टिस्ट छिमी तामाङको विशेष योगदान रहेको छ। अडियो पक्षमा अरेञ्ज नोरबु शेर्पा, मिक्सिङ तथा मास्टरिङ सुमन खड्का, स्टुडियो पर्पल स्टुडियो, र सम्पूर्ण पोस्ट–प्रोडक्सन Shree Musicले संयोजन गरेका छन्।
‘जत्तुकु मुबा, आङीला जामे’ केवल एउटा गीत होइन— त्यो त तामाङ जनजीवनको स्मृति, प्रेमको अभिव्यक्ति र संस्कृतिको गौरवपूर्ण पुनरावलोकन हो। यस्ता सिर्जनाले न केवल सांगीतिक स्वाद दिन्छ, आफ्नो पहिचानप्रतिको जिम्मेवारी र भावी पुस्तालाई मार्गदर्शन गर्ने सांस्कृतिक दस्तावेजको रूपमा पनि काम गर्छ।

