युवा नेता दूधराज तामाङको पक्राउप्रति समर्थक र परिवारको तीव्र आपत्ति: ‘राजनीतिक छवि धमिल्याउने खेल’
काठमाडौं, असार २९ ।
पछिल्लो समय सामाजिक तथा राजनीतिक रूपमा सक्रिय र उदीयमान युवा व्यक्तित्वका रूपमा स्थापित दूधराज तामाङलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका परिवार र समर्थकहरूले तीव्र आपत्ति जनाएका छन्। अपराध अनुसन्धान कार्यालयले शुक्रबार उनलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको विषयलाई समर्थकहरूले ‘नियोजित र पूर्वाग्रही’ कदमको संज्ञा दिएका छन्।
तामाङ निकट स्रोत तथा समर्थकहरूका अनुसार समाजमा उनको बढ्दो प्रभाव र राजनीतिक रूपमा उदाउँदै गरेको व्यक्तित्वलाई रोक्न तथा उनको चरित्र हत्या गर्ने कुत्सित मनसायले यो कदम चालिएको हो। केही निश्चित बुद्धचित्त व्यवसायीहरूको अनुचित प्रभाव र दबाबमा परी प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको दाबी समर्थकहरूको छ। विगतमा पनि तामाङलाई विभिन्न बहानामा अन्यायपूर्ण तरिकाले विवादमा तान्न खोजिएको स्मरण गर्दै उनीहरूले यस पटकको घटना पनि त्यसकै निरन्तरता भएको बताएका छन्।
यस विषयमा अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशील सिंह राठौर तथा डीआईजी गोविन्द थपलियाले भने तामाङलाई कुनै पूर्वाग्रह राखेर नभई केवल ‘सामान्य सोधपुछका लागि’ मात्र नियन्त्रणमा लिइएको स्पष्ट पारेका छन्। प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
यता, तामाङका समर्थकहरूले भने अनुसन्धान प्रक्रिया पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित हुनुपर्ने माग अघि सारेका छन्। कसैको व्यक्तिगत स्वार्थ वा प्रभावका आधारमा मात्रै कुनै पनि व्यक्तिलाई दोषी करार गर्न नपाइने भन्दै उनीहरूले घटनासँग जोडिएका भनिएका सबै पक्षमाथि समान र निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गरेका छन्। एक उदीयमान युवाको सामाजिक प्रतिष्ठामा आँच आउने गरी प्रमाणविना गरिने यस्ता कारबाहीले न्यायको उपहास गर्ने भन्दै समर्थकहरूले सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका छन्।

