समाचार

आदर्शको गफ र व्यवहारको खाडल— दलहरू सच्चिने कि इतिहासको गर्भमा बिलाउने ?

कुबेर दोङ

नेपालको राजनीतिमा विचार, सिद्धान्त र नाराको खडेरी कहिल्यै रहेन। विशेष गरी आफूलाई सर्वहारा र उत्पीडित वर्गको मसिहा दाबी गर्ने कम्युनिष्ट पार्टीहरूले भित्तामा लेखेका नारा र जनतासँग गरेका वाचा निकै आकर्षक थिए। तर, वर्तमान राजनीतिको तीतो यथार्थ यो छ कि यिनीहरूको भनाइ  गराइमा आकाशजमिनको फरक देखिन थालेको छ। हिजो जुन जनता र भुइँतहका कार्यकर्ताको काँधमा चढेर नेताहरू सत्ताको शिखरमा पुगे, आज तिनै जनता र कार्यकर्तासँग पार्टीहरूको सम्बन्ध टुटिँदै गएको छ। यो विचलनले नेपाली राजनीतिमा एउटा ठूलो संकट र सामाजिक अन्तर्विरोध निम्त्याइरहेको छ।

सामाजिक विविधता र नेतृत्वको संकुचित दायरा

नेपाल सयौँ जातजाति, भाषाभाषी र सांस्कृतिक समुदायहरू अटाएको एउटा सुन्दर र विविधतायुक्त देश हो। यो विविधता देशको सम्पत्ति मात्र होइन, राजनीतिको मुख्य आधार पनि हो। यदि दलहरूले साँच्चै देशलाई निकास र गति दिने नीति अंगीकार गर्ने हो भने पार्टीको हरेक तहको संगठनात्मक संरचनामा जातीय जनसंख्याको अनुपातमा समावेशिता लागु हुनु अनिवार्य छ।

विडम्बना, समावेशीता केवल चुनावी घोषणापत्र र भाषणको ‘थिम’ मात्र बनेको छ। अझ, दश वर्षे ‘जनयुद्ध’ देखि नै समानुपातिक सहभागिताको मुख्य नारा लिएर आएको नेकपा (माओवादी) जस्ता पार्टीभित्र त यो अभ्यास पूर्ण रूपमा र अनिवार्य रूपमा देखिनुपर्ने थियो। तर, व्यवहारमा पार्टीका उपल्ला कमिटी र नीति निर्माण गर्ने ठाउँहरूमा अझै पनि एउटै वर्ग र समुदायको वर्चस्व कायम छ। समावेशिताको कुरा केवल ‘भनिने कुरा’ र ‘चित्त बुझाउने मन्त्र’ मा सीमित हुँदा वर्षौँदेखि उत्पीडनमा पारिएका दलित, जनजाति, मधेशी र सीमान्तकृत समुदायहरू यी पार्टीहरूबाट क्रमशः टाढिँदै गएका छन्।

बढ्दो सामाजिक अन्तर्विरोध र नयाँ शक्तिहरूको उदय

पार्टीभित्र र राज्यसत्तामा उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व हुन नसक्दा नेपाली समाजमा भित्री रूपमा सामाजिक विभेद अन्तर्विरोधहरू झन् बल्झिँदै गएका छन्। एकातिर व्यवस्था बदलिए पनि आफ्नो अवस्था नबदलिएकोमा जनता आक्रोशित छन् भने अर्कोतिर भुइँतहका कार्यकर्ताहरू नेताहरूको विलासी जीवनशैली र नातावाद-कृपावादबाट आजित भइसकेका छन्।

यही जनआक्रोश र निराशाको जगमा पछिल्लो समय नयाँ राजनीतिक दलहरूको उदय भइरहेको छ। पुरानो राजनीतिको गल्ती र जनताको असन्तुष्टिलाई नयाँ शक्तिहरूले आफ्नो ऊर्जा बनाइरहेका छन्। तर, पुराना र स्थापित भनिएका दलहरू अझै पनि आत्मालोचना गर्नुको साटो संकीर्ण देखिन्छन्। नयाँ दलहरूलाई गाली गरेर, उनीहरूको उछित्तो काढेर वा उनीहरूलाई ‘फेसन’ को संज्ञा दिएर समय बर्बाद गर्नु पुराना दलहरूको सबैभन्दा ठूलो भूल हो। अरूलाई सरापेर आफ्नो कमजोरी लुकाउने प्रयासले कसैको भविष्य सुरक्षित रहँदैन।

रूपान्तरण कि विसर्जन ?

नेपालका राजनीतिक दलहरू, विशेष गरी कम्युनिष्ट र परिवर्तनकारी दाबी गर्ने शक्तिहरू, यतिबेला इतिहासको गम्भीर मोडमा उभिएका छन्। अब उनीहरूसँग दुईवटा मात्र विकल्प बाँकी छन्:

1. आन्तरिक समीक्षा  रूपान्तरण: आफ्नो संगठनात्मक फङ्सन (Organizational Function) भित्रका कमजोरीहरूलाई निर्ममतापूर्वक समीक्षा गर्ने, पार्टीको आन्तरिक लोकतन्त्र र पूर्ण समानुपातिक समावेशितालाई व्यवहारमा उतार्ने र भुइँतहका कार्यकर्तासँगको सम्बन्धलाई पुनः जीवन्त बनाउने।

2. इतिहासको गर्भमा विसर्जन: यथास्थितिमा रमाइरहने, पुरानै अहंकार बोकिराख्ने र जनताको बदलिँदो मनोविज्ञानलाई नजरअन्दाज गरिरहने।

याद राखियोस्, समय सधैँ एउटै रफ्तारमा चल्दैन र जनताको धैर्यताको पनि एउटा सीमा हुन्छ। यदि पुराना दलहरूले आफ्ना आन्तरिक संरचनामा आमूल सुधार गर्दै सामाजिक विविधतालाई नेतृत्वमा समेट्न सकेनन् भने, उनीहरू जतिसुकै ठूलो इतिहास बोकेका किन नहोऊन्, आउने दिनमा इतिहासको गर्भमा हराएर जाने निश्चित छ। समयमै चेतना भया।