समाचार

तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा नेकपा उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौं, फागुन १९ – तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिता जनाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरूलाई मतदान गर्न आदिवासी जनजाति समुदाय, विशेषगरी तामाङ समुदायलाई हार्दिक अपिल गरेको छ।

केन्द्रीय समितिको नाममा जारी अपिलपत्रमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा आर्थिक पुनरुत्थान, संघीयताको सुदृढीकरण, समावेशी शासन प्रणाली, सुशासन तथा सामाजिक न्यायको कार्यान्वयन अपरिहार्य आवश्यकता बनेको उल्लेख गरिएको छ। ती विषयमा स्पष्ट नीति, ठोस कार्यक्रम र मापदण्डसहित अघि बढेको राजनीतिक शक्तिका रूपमा नेकपा देखिएको दाबी मोर्चाले गरेको छ।

अपिलमा भदौ २३ गते सम्पन्न जेन्जी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचारविरुद्ध कडा कारबाही, योग्यतामा आधारित अवसर, शिक्षा–रोजगारीको सुनिश्चितता, डिजिटल युगअनुकूल राज्य संरचना तथा सामाजिक न्याय र समावेशी प्रतिनिधित्वका मुद्दाहरूलाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गरेको उल्लेख छ। ती मुद्दाहरू आफ्नो संगठनले विगतदेखि उठाउँदै आएको विषयसँग प्रत्यक्ष सम्बन्धित रहेको मोर्चाको भनाइ छ।

मोर्चाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आर्थिक रूपान्तरण, गरिबी न्यूनीकरण, स्वदेशमै रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य पूर्ण रूपमा निःशुल्क, कृषि तथा ग्रामीण क्षेत्रको आधुनिकीकरण, ऊर्जा र पूर्वाधार विकास, महिला, दलित तथा अल्पसंख्यक युवालाई सहुलियत ऋण, आदिवासी जनजातिको सशक्तीकरण र सामाजिक सुरक्षाको विस्तारजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको जनाएको छ।

मोर्चाका अध्यक्ष क. डिल्लीमान तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा पहिचानसहितको संघीयता, समान प्रतिनिधित्व, अधिकार सुनिश्चितता र समावेशी राज्य संरचनाका लागि आफ्नो संगठन निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै यस ऐतिहासिक मोडमा परिवर्तनकारी शक्तिलाई समर्थन गर्नु राजनीतिक तथा ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गरिएको छ।

अन्त्यमा मोर्चाले सम्पूर्ण आदिवासी जनजाति समुदायलाई फागुन २१ गते उत्साहपूर्वक मतदानमा सहभागी भई नेकपाका उम्मेदवारहरूलाई ‘तारा’ चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरेको छ।