समाचार

झापा–५ : सत्ता, सेलिब्रिटी र संघर्षको निर्णायक युद्ध

Screenshot

नेपालको राजनीतिक इतिहासमा केही निर्वाचन क्षेत्रहरू केवल भौगोलिक सीमाभित्र सीमित हुँदैनन्, तिनले देशको राजनीतिक दिशा निर्धारण गर्छन् । झापा–५ आज त्यस्तै मोडमा उभिएको छ । यो क्षेत्र अब केवल एउटा सिटको प्रतिस्पर्धा होइन, यो पुरानो सत्ता, नयाँ सेलिब्रिटी राजनीति र संघर्षशील वैचारिक युवाबीचको निर्णायक टकराव हो।

झापा–५ ले धेरै सत्ता देखिसकेको छ । देशलाई धेरैपटक प्रधानमन्त्री दिएको क्षेत्रले आज आफैंलाई प्रश्न गरिरहेको छ | सत्ता  आयोतर रूपान्तरण किन आएन ?

निरन्तर सत्ता र अधुरो उत्तरदायित्व

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दशकौँदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएका पात्र हुन् । तर लोकतन्त्रमा निरन्तर प्रतिनिधित्व केवल गौरवको विषय होइन, उत्तरदायित्वको कठोर प्रश्न पनि हो ।

झापा–५ मा आज पनि बेरोजगारी, कृषि संकट, शिक्षा–स्वास्थ्यको असमान पहुँच र युवाको पलायन यथावत छन् । यदि सत्ता नै समाधान हो भने, झापा–५ किन अझै प्रतीक्षामा छ ?

यो प्रश्न व्यक्तिविरुद्ध होइन, सत्ताकेन्द्रित राजनीतिप्रति हो |जहाँ निर्वाचन जितिन्छ, तर जनजीवन परिवर्तन हुँदैन।

जेन्जी आन्दोलन र युवाको बदलिँदो चेतना

२०८२ भदौ २३/२४ गतेको जेन्जी आन्दोलन पछि नेपालले स्पष्ट रूपमा जेन्जी (Gen Z) राजनीतिक चेतना देख्यो । सडक, सामाजिक सञ्जाल र बहसको केन्द्रमा उठेको यो पुस्ता अब नारामा सीमित छैन ।

यो पुस्ताले सोध्न थालेको छ,

  #किन राजनीति जनताबाट टाढा छ ?

 #किन नेतृत्व पुस्तान्तरण कागजमै सीमित छ ?

 #किन चुनावपछि नेता हराउँछन् ?

यही असन्तोषको पृष्ठभूमिमा सेलिब्रिटी राजनीतिले स्थान पाएको हो । काठमाडौं महानगरका मेयर बालेन शाहको सम्भावित उम्मेदवारी त्यही प्रवृत्तिको उपज हो ।

तर प्रश्न स्पष्ट छ, असन्तोषको आवाज संसदमा नीति बन्न सक्छ कि सक्दैन ?

संसद स्टेज होइन, कानून TikTok बाट बन्दैन, र रूपान्तरण एक्लो व्यक्तिको साहसले मात्र सम्भव हुँदैन,  त्यसका लागि संगठन, वैचारिक स्पष्टता र दीर्घकालीन संघर्ष आवश्यक हुन्छ।

संघर्षबाट खारिएको वैचारिक युवा : रन्जित तामाङ

यही त्रिकोणात्मक प्रतिस्पर्धामा उभिएका छन् रन्जित तामाङ | न सत्ता संरचनाबाट जन्मिएका, न सेलिब्रिटी छविबाट निर्माण भएका, तर संघर्ष, संगठन र विचारबाट हुर्किएका नेता। झुपडीमा जन्मिएर ग्रामीण परिवेशमा हुर्किएका तामाङले स्नातकोत्तर र एलएलबीसम्मको यात्रा केवल व्यक्तिगत उन्नति होइन, संघर्षशील युवाको सामूहिक सपना हो ।

२०५५ सालदेखि विद्यार्थी आन्दोलन, २०५८–६० को जेल जीवन, जिल्ला अध्यक्षदेखि केन्द्रीय नेतृत्वसम्मको यात्रा, यो सबै उनको राजनीतिक जीवनी मात्र होइन, नेपालको विद्यार्थी आन्दोलनको इतिहास पनि हो।

महत्वपूर्ण कुरा के हो भने, रन्जित तामाङ जेन्जी आन्दोलनको विरोधी होइनन्, उनी त्यसको वैचारिक उत्तराधिकारी हुन्। जेन्जीको असन्तोष र संघर्षको संगम आजको युवा पुस्ता सत्ता र टिके प्रथाबाट दिक्क छ । ठ्याक्कै यही ठाउँमा रन्जित तामाङको राजनीति उभिन्छ।

#टिके प्रथाको खुला विरोध

#चुनावबाट नेतृत्व चयनको अडान

#संगठनभित्र लोकतान्त्रिक अभ्यास

#शैक्षिक पुनरसंरचना र विद्यार्थी अधिकारको स्पष्ट दृष्टि

यी मुद्दाहरू जेन्जीको भावनात्मक असन्तोषलाई वैचारिक दिशामा रूपान्तरण गर्ने सेतु हुन्। जहाँ सेलिब्रिटी राजनीति प्रश्न मात्र उठाउँछ, रन्जित तामाङको राजनीति उत्तर खोज्छ। झापा–५ को ऐतिहासिक छनोट | यो चुनाव अब अनुहारको होइन, राजनीतिक संस्कृतिको हो। 

के झापा–५ फेरि सत्ता केन्द्रको सुरक्षित सिट बन्ने ?

कि प्रयोगशालामा रूपान्तरण हुने ?

कि संघर्ष, संगठन र विचारको प्रतिनिधि संसदमा पठाउने ?

यदि झापा–५ ले युवाको आक्रोश, संघर्षको अनुभव, र वैचारिक स्पष्टतालाई एकै ठाउँमा प्रतिनिधित्व गराउन चाहन्छ भने, त्यो विकल्प रन्जित तामाङ हुन्।

अबको निचोड,  इतिहास दोहोर्याउने कि भविष्य रोज्ने ?

यो निर्वाचनमा झापा–५ ले इतिहास दोहोर्याउने अवसर पनि छ, र भविष्य रोज्ने सम्भावना पनि। जेन्जी आन्दोलनले चेतना दिएको छ, अब त्यो चेतनालाई संसदीय शक्तिमा बदल्ने नेतृत्व चाहिएको छ।

  झापा–५ ले यदि सत्ता होइन, रूपान्तरण रोज्ने हो भने,

सेलिब्रिटी होइन, संघर्षशील वैचारिक युवा रोज्ने हो भने 

यो चुनावको उत्तर स्पष्ट छ।

झापा–५ अब संघर्ष बोल्ने मान्छे संसदमा पठाउन तयार हुनुपर्छ।

लेखक : ह्याङला दोखाङ