समाचार

आन्दोलनको आगोबाट निखारिएको नेतृत्व : दिननाथ गौतम

काभ्रे — राजनीति धेरैका लागि पद र पहुँचको यात्रा हुन सक्छ, तर दिननाथ गौतमका लागि यो जीवनकै त्याग, बलिदान र प्रतिबद्धताको कथा हो। विद्यार्थी आन्दोलनको चेतनाबाट सुरु भएको उनको राजनीतिक यात्रा जनयुद्धको अग्निपरीक्षा, १६ महिनाको बेपत्ता जीवन, राज्यद्वारा सहनु परेको अमानवीय यातना र अन्ततः लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आइपुगेको छ।

वि.सं. २०१७ सालमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली–५ मा निम्न वर्गीय परिवारमा जन्मिएका गौतम अभावकै बीच हुर्किए। गरिबी र संघर्षले खारिएका उनले शिक्षालाई हतियार बनाएर स्नातक तहसम्म अध्ययन पूरा गरे। २०३६ सालको विद्यार्थी आन्दोलनले उनको चेतनामा विद्रोहको बीउ रोप्यो, जसले उनलाई अन्याय र उत्पीडनविरुद्ध उभिन सिकायो।

शिक्षक पेशामा रहँदा पनि उनले अन्यायसँग सम्झौता गरेनन्। पंचायत व्यवस्थाविरुद्ध आवाज उठाएकै कारण २०४४ सालमा जागिर खोसियो, तर विचार खोस्न कसैले सकेन। त्यही विश्वासका साथ उनी नेकपा (मशाल) हुँदै संगठन निर्माणमा लागे | पार्टी सदस्यदेखि एरिया सेक्रेटरी, जिल्ला र क्षेत्रीय जिम्मेवारी सम्हाल्दै जनताको भरोसाको पात्र बन्दै गए।

२०५२ सालमा स्थायी जागिर र सुरक्षित जीवन त्यागेर जनयुद्धमा होमिनु उनका लागि सत्ता होइन, परिवर्तनको रोजाइ थियो। २०५३ साल पुस १९ गते बेथान मोर्चाको कमाण्ड सम्हाल्दा उनले केवल मोर्चा जितेनन्, उत्पीडित जनताको आत्मविश्वास जिते। त्यसबेला उनी काभ्रे–रामेछाप जिल्ला सेक्रेटरीको जिम्मेवारीमा थिए।

२०५६ साल श्रावण २५ गते राज्यद्वारा बेपत्ता पारिएका गौतमले १६ महिना सेनाको अँध्यारो कोठामा अमानवीय यातना सहे। तर यातनाले उनको शरीर थकाए पनि विचार झुकाउन सकेन। २०५७ साल कात्तिक १८ गते शान्ति वार्ताको वातावरण निर्माणका लागि रिहा भएपछि उनी झनै दृढ भएर जनयुद्ध र जनआन्दोलनमा फर्किए।

काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र दोलखामा संगठन निर्माण गर्दै हिँड्दा उनीमाथि ‘रेड कर्नर नोटिस’ जारी गरियो। तर राज्यको डरभन्दा ठूलो थियो | जनताप्रतिको उनको जिम्मेवारी। २०६५ सालमा काभ्रे जिल्ला अध्यक्ष, सह–इन्चार्ज तथा केन्द्रीय सदस्यका रूपमा उनले आन्दोलनलाई संस्थागत रूप दिन महत्त्वपूर्ण भूमिका खेले।

संघर्षबाट शासनसम्मको यात्रामा, २०७४ देखि २०७९ सम्म चौंरीदेउराली गाउँपालिकाको प्रथम निर्वाचित अध्यक्षका रूपमा उनले जनताको विश्वासलाई कामले पुष्टि गरे। उच्च मतसहित निर्वाचित भई विकास, सुशासन र सामाजिक न्यायलाई व्यवहारमा उतार्दै उनले ‘संघर्षशील नेता’ मात्र होइन, ‘कार्यशील जनप्रतिनिधि’को पहिचान बनाए।

आज, लामो संघर्ष, त्याग र अनुभव बोकेका दिननाथ गौतम आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट फेरि एकपटक जनताको विश्वास जित्ने अभियानमा छन्।

उनको उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा होइन, यो उत्पीडितको आवाज संसदसम्म पुर्‍याउने संकल्प हो, त्याग र इमानदारीले राजनीतिलाई फेरि भरोसायोग्य बनाउने प्रतिबद्धता हो। हाम्रो तर्फबाट पनि कमरेड दिननाथ गौतमलाई जितको अग्रिम शूभ कामना |

दोङ कुबेर