समाचार

ल्होछार कसरी मनाउनु पर्छ ?

ल्होछार कसरी मनाउनु पर्छ ?

छिमार कसरी ग्रहन गर्ने तरिका उल्लेख गरिएको छ।
नेपालमा तामाङ, शेर्पा, लामा, भोटे, ह्योल्मो, र गुरुङ आदिले मनाउँछन। ल्होछार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ। उदाहरणको लागि पश्चिममा मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो। तामाङहरुले नयाँ साललाई ‘ल्होछार’ र अन्य समुदायले नयाँ साललाई ‘लोसार अथवा ल्होछार’ भनेर सम्बोधन गरेको पाइन्छ ।

नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने ल्होछार (नयांँ साल) को गणना मञ्जुश्री कालचक्र ज्योतिष शास्त्रमा आधारित छन। प्रत्येक वर्षको ल्होछार (नयांँ साल) को गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ वटा लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुः (१)मुसा–चीवा (२)गोरु–लाङ(३) बाघ–तक (४)खरायो-ह्येई(५) मेघ–डुक (६)सर्प–डुल(७) घोडा–ता (८)भेंडा–लुक(९) बाँदर–टे (१०)चरा–ज्या
(११) कुकुर–खी र (१२)ब“देल–फा हुन । (५ )धातुहरुः (१)माटो–स (२)आगो–मे (३)काठ–सिङ (४)फलाम–च्या र (५)पानी–छ्यु हुन् भने २ लिङ्गहरु (१)पुरुष–फो र (२)रस्त्री–मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।

नेपालमा हालसम्म तोलो ल्होछार सोनाम ल्होछार र ग्याल्बो ल्होछार गरी तीन प्रकारको ल्होछार मनाईने गरेको पाइन्छ । तोला ल्हो प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ। प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयांँ पालुवा फेरिने र यहाँबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाएको पाइन्छ। यो तोलो ल्होछार गुरूङ र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाइन्छ ।

सोनाम ल्होछार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ। कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नयाँ साल (ल्होछार) को रुपमा मनाएको विश्वास गरिन्छ । त्यसैले यस ल्होछारलाई किसान ल्होछार भन्ने पनि गरिन्छ। नेपालमा सोनाम ल्होछार तामाङ र ह्योल्मो समुदायहरुले मनाइन्छ।

ग्याल्पो ल्होछार यो ल्होछार कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो (धतु) अनुसार नयाँसालको पहिलो दिनलाई ल्होछारको रुपमा मनाएको देखिन्छ । यो ग्याल्पो ल्होछार मंगोल वादशाह चाङगिच खाले तिब्बतको राजामिञागको शासन लिएको विजय उत्सवको रुपमा मनाएको विश्वास गरिन्छ । यो ल्होछार शेर्पा, लामा, भोटे ,तामाङ तथा गुरुङ समुदायहरुले मनाइन्छ ।

घर रङ्गाउने र खाप्से बनाउनेः ल्होछार शुरु हुनुभन्दा केही महिना अगाडि देखि नै ल्होछारको पूर्व तयारीको क्रममा घरहरुमा रङ्ग पोत्ने, ल्होछारको लागि आवश्यक लुगाहरु सिलाउने र ल्होछारको लागि किनमेल गर्ने गर्दछन् । ल्होछार शुरु हुनुभन्दा हप्ता–दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने विभिन्न आकार प्रकारको रोटीको परिकार) बनाईन्छ ।

लोफुतः लोफुत (अन्न रोपेर उमार्ने) आफ्नो ठाउँको हावापानी अनुसार ल्होछारको पहिलो दिन २०८१ माघ १७ गते सम्ममा उम्रिने गरी एउटा भाडामा माटो र बालुवा मिसाएर त्यसमा गहुको बीउ राखेर उमारिन्छ । यसरी उमे्रको गहुलाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गरिन्छ । पूर्णिमाको दिनमा रोप्ने चलान छ।

गुथुकः

ल्होछार शुरु हुनुभन्दा २ दिन अगाडि २०८१ माघ १५ गते आफ्नो घरको भित्री भागहरु पूरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह–दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो चौबाटोहरुको चोकमा फालेर आ–आफ्नो परिवारको ग्रह दशालाई शान्त र बिसर्जन गरिन्छ । यही दिन साँझ नौ प्रकारको अन्नहरु मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा आँटाको डल्लाभित्र सेतो कपडा, गहु, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आँटाको एक–एक डल्ला सबैको भागमा राखिन्छ र गुथुक खानुभन्दा अगाडि सो आँटाको डल्लोभित्र कस्को भागमा के परेको छ भनेर सबैले अगाडि खोलेर हेरिन्छ । (१)सेतो कपडाको अर्थ कामना पूरा हुने, (२)गहुको अर्थ सम्पत्ति बढ्ने, (३)कागजको अर्थ विद्वान हुने, (४)खुर्सानीको अर्थ खरो बोली बोल्ने,(५) कोइलाको अर्थ कपाट मन हुने,(६) घ्यूको अर्थ चिप्लो बोली बोल्ने र (७) नुनको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ । बौद्ध, स्वयम्भू, नामोबुद्ध, ह्याङ्ल स्यो, तेमालको ह्यरि न्हाकको तोङसोम कुन्डाक, घेलोङ ओडार, गुरु पेमा स्याब्जेलिङ्ग गुम्बा, ग्योइखार सौरा, रो साईब, ह्याङ्ला स्यो, डाक्पो मारातिक, जामचोकमा गाउँघरको मुख्य गुम्बाहरुमा बिदाइ हुने सालको ग्रह–दशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रह–दशा शान्त र बिसर्जन गर्न गुम्बाहरुमा बिहानदेखि नै ङिस्युगु पूजा गरिन्छ । यो पूजा सक्नसाथ अधिकांश गुम्बाहरुमा ल्होछारको बिदा शुरु हुन्छ र लामाहरु ल्होछार चाडको लागि सबै आ–आफ्ना घर जान्छन।

सजावट ल्होछार शुरु हुनुभन्दा १ दिन अगाडि अर्थात् २०८१ माघ १६ गतेको दिन सबैले आफ्नो घरलाई विभिन्न सामग्रीहरु प्रयोग गरेर सजाईन्छ। यसरी घरहरु सजाउदा विशेषता सम्बोटा लिपीमा टासी देलेक लेखिएका वाक्यांशको र अष्टमंगलको चिन्हहरु सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनहरुमा लेखिन्छ। गाउंघरमा आगोको धुंवाले पुरै कालो भएको भित्ता, दलिन र खम्बाहरुमा सेतो पिठोले अष्टमंगल लेखिएपछि घर धेरै उज्यालो देखिन्छ । अष्टमंगल लेख्न नजान्नेहरुले अष्टमंगलको प्रतिक बुढीऔंलाले पीठोको आठ वटा थोप्ला बनाइन्छ। यहि दिन विशेष गरी पूजा कोठालाई पूर्ण रुपले सिंगारेर भगवानको प्रतिमा मूर्ति वा फोटोअगाडि नै स–साना सातवटा भाँडामा क्रमशः (१)मुख धुने जल (अर्घ्याम) (२) गोडा धुने जल (पाद्यम) (३)फूल (पुष्पे) (४) धुप (धुपे) (५) छयोमी (आलोके) (६)केशरको जल (गन्धे) र (७) भोजन प्रतिक तोरमा (नैवेद्य) (८)संख या घण्टि (श्याप्ता) सजाएर राखिन्छ। साथै भगवानको प्रतिमा मूर्ति वा फोटो राखिएको स्थान (छ्योखाङ) अगाडि पुङ्गी अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाई त्यसमाथि दीर्घायूको प्रतीक कछुवाको आकार बनाएको रोटी, ल्होछारको बेला आफ्नो नातेदारलाई इष्ट–मित्रहरुलाई आर्शिवाद दिंदा खुवाउन विशेष प्रकारको काठको भाँडोमा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएको) काठको पोङभित्र राखेको छ्याङ फु (अमृतजलको प्रतीक पेय पदार्थ), ग्रह–दशाको प्रतिरक्षा गर्न राखिएको ‘डला’ (तरबार वा काट्ने हतियार), पञ्चबुद्ध, पञ्चतत्व र पाञ्च प्राकृतिक शक्तिको प्रतीक बोसको डण्डामा बेरिएर राखेको पञ्च रङ्गिको कपडा र विभिन्न प्रकारको रोटी, मिठाइ तथा बिस्कुटहरु सजाएर राखिन्छ । ल्होछारको पाहुनालाई बसाउने ठाउँ र खुवाउने खानाहरु सबै तयार पारेर राखिन्छ ।

ल्होछारको पहिलो दिन गर्ने कार्यहरुः

चोखो पानीः ल्होछारको पहिलो दिन अर्थात् २०८१ माघ १७ बिहान सबेरै तीन/चार बजे उठेर हात मुख धोएपछि सिधै जमिनबाट पानी निस्कने धारामा गएर धारालाई कर्क्याङ (घीउको थोप्ला), खादा र धुप चढाएर पूजा गरेर पानी थापेरघरमा ल्याइन्छ। धारामा पानी लिन सबै भन्दा पहिला पुग्नेको होड नै चल्छ।

यसरी ल्याएको पानी सर्वप्रथम आफुले मन्ने (भगवानलाई पानी चढाउने स–साना सातवटा भाँडो) मा हालेर चढाइन्छ र (साङ सेर्क्याम अशुद्धलाई चोख्याउने) पूजा गरिन्छ। नयाँ सालको खान परिकार पहिले भगवानलाई चढाउन ल्होछारको खानाहरु सबै (चामलको खानाको परिकार) खाप्से (रोटीको परिकार) र अन्य ल्होछारको खाना सबैभन्दा पहिले भगवानलाई चढाइन्छ।

आशिर्वादः घरको मूल व्यक्तिले छिमार (सगुनको प्रतिक सेतो पिठोको परिकार) र अमृत जल (छ्याङ फु) लाई ३ पटक आकाशतिर र तिन पटक जमिन तिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाने गर्छ र अलिकति सगुन दायाँ कुममा छर्किन्छ। त्यसपछि घरका सबै सदस्यहरुले नयाँ वा सफा लुगा लगाएर ल्होछारको छिमार खाना तयार हुन्छन। छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दायाँ र केटी भए बायाँ कुममा छर्किन्छ। छिमार छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देवार थोपर स्योग” भन्छन् । छिमार सङ्ग संगै छ्याङ्फु (अमृत जल) पनि लिइन्छ। घर परिवारका सबैले छिमार खाई सके पछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिलपछि खाप्से र अन्य खानाका परिकारहरु खादै मनोरञ्जन गर्दै रमाइलो गर्दछन् । ल्होछारको पहिलो दिन आ–आफ्नै घरमा बसिन्छ। ल्होछारको पहिलो दिन शुभ तिथि भएमा घरकोअगाडि आँगनमा राखिएको पुरानो झन्डालाई झिकी नयाँ झन्डा ठडाईन्छ। यदि यो दिन झन्डा ठडाउन शुभ दिन नपरेमा अन्य शुभदिनहरुमा ठडाईन्छ ।

लुङ्दार र पिकनिकः लुङ्दार टाङ्ने प्रचलनको शुरुवात् भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाईंमा देवताहरू पराजित भएपछि भगवान बुद्धले ल्हायी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत् दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकोले त्यसबेला देखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्दार टाङ्ने प्रचलन शुरू भएको हो। लुङ्दारको पाँच रङ्ग अर्थ पञ्चबुद्ध (ग्याल्वा ह्रिङा) को रङ्ग हो । लुङ्दारको सेतो रङ्गको अर्थ बैरोचना बुद्ध (नम्बर नाङजे) निलो रङ्गको अर्थ अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा) पहेलो रङ्गको अर्थ रत्न सम्भव बुद्ध (ह्रिनछेन ज्युङ्ने) रातो रङको अर्थ अमिताभ बुद्ध (नाङ्वा थाये) हरियो रङको अर्थ अमोघसिद्धि बुद्ध (दो ह्योन डुप्बा) हो । गणितीय ज्योतिष विद्याको आधारमा लुङ्दारमा पाइने पाँच रङ्गलाई धातुको रङ्गमानिन्छ। जस अनुसार सेतो–फलाम, नीलो–पानी, पहेंलो–माटो, रातो–आगो र हरियो–काठ धातु हुन। लुङ्दारमा पाइने पाँच रङ्गले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ। निलो आकाश, सेतो बादल, रातो आगो, हरियो पानी, पहेलो धर्ती हुन। लुङ्दार टाङ्नुअगाडि लुङ्दारलाई धर्मगुरुबाट अभिषेक (रप्ने) गरिन्छ ।

ल्होछारको दिन २०८१ माघ १७ गते देखि पूर्णिमासम्म धर्म गुरूहरु र आफ्नो मान्यजनहरुकोमा गएर छिमार खाई आशिर्वाद लिइन्छ। साथै आफ्नो जन्म मिति अनुसार शुभ दिनमा आफ्नै घरमा र अग्ला र स्वच्छ डाँडामा दीर्घायू, सु–स्वास्थ्य र सफलताको कामना गर्दै व्यक्तिगत र सामूहिक दर्ज्यु (झन्डा) ठड्याउने र लुङ्दार (पञ्च रङ्गिन पाटको) टाँगिन्छ। यसरी झन्डा ठड्याएर र लुङ्दार टाँगेपछि पूजा गरिन्छ र अन्तमा सबैले हातमा सेतो सगुनको प्रतीक पिठो र चामल हातमा लिएर २ पटक आकाशतिर उचाल्दै तेस्रोपटक चाहि “कि‘ कि‘ सो‘ सो‘ होर ग्यलो” भनेर छर्किन्छ ।

ल्होछारको दिन २०८१ माघ १७ गते देखि पूर्णिमासम्म काठमाडौं उपत्यकाको बौद्ध, स्वयम्भु, काठे सिम्भू, नमोबुद्ध, तेमालको ह्यरि न्हाकको तोङसोम कुन्डाक, घेलोङ ओडार, गुरु पेमा स्याब्जेलिङ्ग गुम्बा, ग्योइखार सौरा, रो साईब, ह्याङ्ला स्यो, डाक्पो मारातिक, जामचोकमा लुङ्दार र दर्ज्यु (झन्डा) ठड्याउने र लुङदार टांगेर कि कि सो सो होर ग्यालो भन्नेहरुको ठूलो भीड लागेको हुन्छ ।

ल्होछारको बेला आफ्नो कार्यालय, संघ÷संस्था, व्यापार, उद्योग र कल–कारखानाहरूमा केही दिनको बिदा दिने प्रबन्ध मिलाऔं। ल्होछारको बेला परिवारका सबै सदस्यहरूले आफ्नै जातीय पोशाकहरू लगाउने गरौं। ल्होछारको उपलक्ष्यमा टोलका छिमेकी, स्वदेशी तथा विदेशमा रहेका नाता–गोता र मित्रहरूमा मौखिक वा लिखित शुभ–कामना दिने बानी बसालौं। ल्होछारको बेला आफ्नो कार्यालय, संघ–संस्था, कल–कारखाना, उद्योग वा व्यक्तिगत तर्फबाट ल्होछारको शुभ–कामना लेखिएको ब्यानर सडकमा टाँगी ल्होछारलाई ब्यापक प्रचार–प्रसार गरौं। आफ्नो नानीहरूलाई ल्होछारको खानाको परिकार गुथुक (९ थोक मिसाएको खाना), खाप्से (मैदाको पिठोबाट बनाएका विभिन्न परिकारका रोटी), छ्याङगुल (विशेष परिकारको जाँड), छिमार (गहुको भुटेको पिठोमा घ्यू र चिनी मिसाएको) फकरील (आँटाको डल्ला उसिनेर घ्यूमा भुटेर चिनी हालेको) र डेसिल (चामललाई घ्यूमा भुटेर काजु, किसमिस मिसाएका) आदि खानाहरु बनाउने र सजाउने तरिका सिकाउने गरौं। २०८१/१०/१७ गते तेमालको ह्यरि न्हाकको तोङसोम कुन्डाक, घेलोङ ओडार, गुरु पेमा स्याब्जेलिङ्ग गुम्बा, ग्योइखार सौरा, रो साईबमा बिषेश ल्होछार पुजा हुने भएकाले उपस्थित हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ।