समाचार

सहासी महिला शर्मिला स्याङतान

काभ्रे रोशी–११ की शर्मिला स्याङतानको हिमालसँग खास साइनो थिएन । उनले बचपनमा देखेका पडाड थिए, तेमाल, महाभारत अनि सैलुङ । फुर्तिलो ज्यान, मिहिनेती बानी । हिँड्न, दौडिन अल्छी नमान्ने । सन् २००९ मा शर्मिला १७ वर्षकी मात्रै थिइन् । ११ कक्षा पढ्दै थिइन् । उनका मामाका छोरा ट्रेकिङ जान्थे । एक दिन बाटोमा अचानक भेटिएका मामाका छोरालाई शर्मिलाले भनिन्, ‘मलाई पनि ट्रेकिङमा लैजाने दाइ ?’ जवाफ आयो, ‘एकजना मान्छे चाहिएको छ । जाने भए हिँड ।’ यसरी ख्यालख्यालमै सुरु भयो, शर्मिलाको हिमालसँग साइनो ।

शर्मिला घर नगई दाइसँगै काठमाडौं आइन् । भोलिपल्ट बिहान ५ बजे सुन्दरीजलबाट गोसाइँकुण्डसम्मको यात्रा सुरु भयो । गोसाइँकुण्ड पुग्दा सूर्य पिक चढ्न हिँडेका बंगलादेशी श्रीमान्–श्रीमतीसँग भेट भयो । श्रीमतीलाई लेक लागेर जान नसक्ने भइन् । शर्मिलालाई गाइडले सहयोगीको रूपमा सूर्य पिक चढ्ने भए जाऊँ भनेर आग्रह गरे । त्यसपछि उनी लागिन् सूर्य पिकतिर ।

सूर्य पिक चढेर दुई हप्तापछि काठमाडौं फर्किइन् । सूर्य पिकपछि शर्मिलाले अझै अग्लो हिमाल चढ्ने सपना सजाउन थालिन् । तर, समयले अर्को मोड लियो । कक्षा १२ पढ्दै गर्दा २१ वर्षको उमेरमा उनको बिहे भयो । विवाहपछि सपना चुम्ने कठिन बाटो छोटिएला भन्ने उनको आशा थियो । तर, भइदियो उल्टो ।

विवाह गरेको दुई वर्षपछि छोरा जन्मिए । अब श्रीमान्ले हिमाल चढ्ने होइन, पैसा कमाउन विदेश जाऊ भन्न थाले । अब सुरु भए, शर्मिलाका कठिन दिनहरू । पासाङको जस्तै उनले पनि उही शब्द सुन्नुपर्‍यो, ‘आइमाई भएर हिमाल चढ्ने होइन, घर सम्माल्ने हो ।’ तर, निडर स्वभावकी शर्मिलाभित्र जसरी पनि सगरमाथा चढेर छाड्ने सपना झन्–झन् मौलाउँदै गयो ।

श्रीमान्सँग शर्मिलाको मनमुटाव बढ्दै गयो । झगडा दिनहुँ पर्न थाल्यो । एकातिर दुधे बच्चा, अर्कोतिर श्रीमान्ले दिने टर्चर । सहरको गुमनाम ढोकामा न हात दिने कोही, न ढाडस दिने कोही । शर्मिला डिप्रेसनकी सिकार भइन् । संसार अँध्यारो देखिन् । आशाका दियो कहीँकतै धिपधिपाएको देखिनन् । निराश थकित शर्मिलाले एक साँझ साह्रै अप्रिय निर्णय लिइन् । त्यो थियो, बच्चा र आफू दुवैले विष पिएर आत्महत्या गर्ने ।

पसलबाट विष किनेर ल्याइन् । दुध पिउने बट्टामा विष घोलिन् । अर्को कचौरामा आफ्नो लागि तयार पारिन् । त्यसपछि बच्चालाई विष पिलाउन तयार भइन् । तर, झसंग भइन् । शर्मिला त्यो अप्रिय समय सम्झिँदै भावुक हुँदै भन्छिन्, ‘झल्यास्स ब्युँझिएजस्तो भएँ । सोचेँ, बच्चाको इम्युनिटी पावर कम हुन्छ । थोरै विष पनि बच्चाका लागि पर्याप्त हुन्छ । तर, मचाहिँ मर्न सकिनँ भने ? त्यसपछि मैले हातमा भएको विष तुरुन्तै फालेँ, बच्चालाई काखीमा च्यापेँ ।’

मृत्युको मुखबाट फर्केपछि शर्मिलाको साहसिक यात्रा सुरु भयो । उनले सोच्न थालिन्, यस्तो हालतमा मलाई त्यो लोग्ने भन्नेले पुर्‍याएको हो, म किन मर्ने ? अब शर्मिलाले श्रीमान्सँग अलग हुने निर्णय लिइन् । भन्छिन्, ‘आत्महत्याको बाटोबाट फर्किएपछि आफूलाई बलियो बनाउँदै लगेँ । मेरा बहिनीहरू (पूर्णिमा, उर्मिला)ले निकै ठुलो साथ दिए ।’

शर्मिलाका श्रीमान् सम्पर्कविहीन भए । जिम्मेवारीबाट पन्छिए । बालख छोरा च्यापेर चिया पसल सुरु गरिन् । चिया पसलमा हिमाल चढेर आएका शेर्पा आउँथे । शेर्पाहरूसँग चिनाजान बढ्न थाल्यो । एकजना शेर्पाले एक दिन शर्मिलालाई उनको रुचिबारे सोधे । शर्मिलाले वर्षौं दबिएर बसेको सपना सुनाइन्, ‘सगरमाथा चढ्ने ।’ ती शेर्पाले शर्मिलालाई हौसला दिए । सगरमाथा चढ्ने प्रक्रिया बताइदिए ।

काखमा बच्चा बोकेर शर्मिलाले पर्वतारोहणको तालिम लिइन् । ‘आमा भएर पनि समाजमा केही गर्नुपर्छ भन्ने सोच आइरहन्थ्यो । आफूजस्ता महिलामा जागरण ल्याउनु थियो,’ उनी भन्छिन् । तालिम लिइरहँदा पनि महिलाले हिमाल चढ्न सक्दैनन् भन्दै धेरैले निरुत्साहित बनाए । तर, उनी विचलित भइनन् ।

तालिम त लिइन्, तर अब समस्या भयो पैसाको । शर्मिलाले सामाजिक सञ्जालमार्फत फन्डिङका लागि अभियान चलाइन् । नजिकका साथीले उनलाई आर्थिक सहयोग गरे । उनले २४ लाख खर्च जुटाइन् । त्यसपछि १३ महिनाको छोरा छाडेर सगरमाथाको शिखरतिरको यात्रामा निस्किइन् । उनी भन्छिन्, ‘दुई वर्षसम्म आनन्दले सुतेको कुनै रात थिएन । बच्चालाई ज्वरो आउँदा पनि छाडेर हिँडेँ । जसरी भए पनि उद्देश्य पूरा गर्नु थियो ।’ निकै कठिन संघर्षपश्चात् शर्मिलाले सन् २०१९ मे २१ को बिहान ७:५३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकिन् ।

सगरमाथा चुमेपछि शर्मिलाको पाइला रोकिएन । त्यसपछि युरोपकै अग्लो एलब्रु हिमालको आरोहण गरिन् । आठ हजार मिटरमाथिका मनास्लु, अन्नपूर्ण, ल्होत्से हिमाल आरोहण गरेपछि उनको सपनाको आयतन विस्तार भयो । आठ हजार मिटरमाथिका संसारका अग्ला १४ हिमाल चढ्ने योजना बनाइन् । हिमाल चढेर उनी दुनियाँलाई भन्न चाहन्छिन्, ‘महिलाहरू पनि पुरुषभन्दा कम छैनन् । महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ ।’ १४ हिमाल चढ्ने उनको योजना जारी छ । अहिले शर्मिलाले बौद्धमा क्याफे खोलेकी छिन् । ‘क्याफे इपिक’ नाम दिएको उनको व्यवसायबाट उनी मात्रै बाँचिरहेकी छैनन्, महिलाहरूलाई निःशुल्क कफी बनाउने तालिम पनि दिइरहेकी छिन् । उनको क्याफेबाट ३२ जना महिलाले बारिष्ठा कफी बनाउने तालिम लिइसकेका छन् । उनीहरू देश तथा विदेशमा आत्मनिर्भर भएका छन् । शर्मिला सुनाउँछिन्, ‘निरन्तर संघर्षकै कारण आज म यहाँ आइपुगेको छु । पुरुषप्रधान समाजमा महिलाले हन्डर त खानैपर्छ । तर, हिम्मत हार्नु नहुने रहेछ । हिम्मत जुटाएर अघि बढ्यो भने समाजमा महिलाले नसक्ने केही छैन ।’

 

पर्यटन विभागको तथ्यांकअनुसार डिसेम्बर २०२३ सम्म ६४१ जना महिलाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । त्यसमध्ये पहिलोपटक सफल आरोहण गर्ने पासाङ ल्हामु शेर्पासहित ६५ जना नेपाली महिलाले सगरमाथाको शिखरमा पाइला टेकिसकेका छन् । ६५ मध्येका यी चार पर्वतारोही महिला समाजका प्रतिनिधि पात्र हुन् । महिला पर्वतारोहीको हिम्मतले पितृसत्तात्मक समाजलाई भनिरहेको छ, ‘महिलालाई कमजोर नसोच ।’