काठमाडौं। तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारको सांस्कृतिक र उत्सवमय भावना बोकेको ‘आयो है ल्होछार घर–घरमा’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ। स्वर साधना संगीत पाठशालाको प्रस्तुतिमा तयार गरिएको यस गीतले ल्होछारको उल्लास, सामूहिकता र सांस्कृतिक पहिचानलाई सशक्त रूपमा उजागर गरेको छ।
गीतमा छेवाङ तेन्जिङ लामा र योजाम तामाङको स्वर रहेको छ। शब्द, संगीत तथा एरेञ्ज समेत छेवाङ तेन्जिङ लामाकै रहेको गीतले मौलिक तामाङ धुन र परम्परागत लयलाई आधुनिक प्रस्तुतिसँग सुन्दर रूपमा संयोजन गरेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ दिका गुरुङले गरेका हुन्।
म्युजिक भिडियोमा तामाङ चलचित्रका महानायक अमिर दोङ र याङ्गी दोङ तामाङको अभिनय देख्न सकिन्छ। परम्परागत भेषभूषा, डम्फु, तामाङ संस्कार र सामूहिक नाच–गानमार्फत ल्होछारको रौनकलाई भिडियोमा जीवन्त बनाइएको छ। मेकअप आर्टिस्टको भूमिकामा आशा लामा रहेकी छन् भने सहायक समन्वय प्रभु श्रेष्ठले गरेका छन्।
भिडियोको निर्देशन, क्यामेरा, सम्पादन तथा कोरियोग्राफी विजय रुम्बा लामाले गरेका हुन्। दृश्य संयोजन, रंग संयोजन र नृत्य संरचनाले गीतको भावनालाई अझ प्रभावशाली बनाएको छ।
ल्होछारलाई केवल पर्वका रूपमा मात्र होइन, तामाङ समुदायको पहिचान, एकता र सांस्कृतिक गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको यो म्युजिक भिडियोले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
‘आयो है ल्होछार घर–घरमा’ म्युजिक भिडियो ल्होछारको अवसरमा परिवार, समाज र समुदायलाई जोड्ने सांगीतिक सेतुका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुस्

