समाचार

सोनाम ल्होछारको तिथि विवाद 

हामीले मनाउने सोनाम ल्होछारको मिति/तिथि विवाद कसरी आयो त ? भन्ने कुरालाई सही तरिकाबाट समाधान खोज्ने हो भने, हामीले पहिलाचन्द्रपात्रो, मलमास र खगोलशास्त्रीय यथार्थको अध्यायन गर्न जरुरत पर्छ |

१. सोनाम ल्होछार कुन पात्रोमा आधारित छ ?

सोनाम ल्होछार चन्द्रपात्रो (Lunar Calendar) मा आधारित पर्व हो।

यसको आधार:

अमावस्या–आधारित महिना

१२ वर्षे ल्हो (पशुचक्र) प्रणाली

• सूर्य होइन, चन्द्रगतिको गणना

यस अर्थमा सोनाम ल्होछार नेपाली सरकारी पात्रो (सौर्य विक्रम संवत्) को अधीनमा पर्ने पर्व होइन।

२. सौर्य वर्ष र चन्द्र वर्षबीचको खगोलशास्त्रीय अन्तर,

सौर्य वर्ष,

• सूर्यले पृथ्वी वरिपरि एक चक्कर लगाउने समय

365 दिन 5 घण्टा 48 मिनेट

,चन्द्र महिना

• एक अमावस्या देखि अर्को अमावस्या

•  29 दिन 12 घण्टा 44 मिनेट

  • १२ चन्द्र महिना = 354 दिन

परिणाम:

• चन्द्र वर्ष सौर्य वर्षभन्दा प्रत्येक वर्ष करिब 11 दिन छोटो |

यदि यही अवस्थालाई सच्याइएन भने,

• ऋतु बिग्रन्छ

• पर्वहरू मौसम सँग असम्बन्धित बन्छन् |

३. मलमास (अधिक मास) : खगोलशास्त्रीय सिद्धान्त

चन्द्रपात्रोलाई ऋतुहरू सँग मिलाउन प्रत्येक २ वर्ष ८ महिना जति पछि एउटा अतिरिक्त महिना थपिन्छ

यही अतिरिक्त महिना = मलमास / अधिक मास

अब हामीले माथि खगोलशास्त्रीय रुपमा अध्यायन गरिसकेपछि यसपालिको सोनाम ल्होछार कहिले पर्ने रहेछ त ?

  • सोनाम ल्होछार, सरकारी पात्रोको भ्रम र चन्द्रपात्रोको यथार्थ,

सोनाम ल्होछार तामाङ समुदायको एउटा सांस्कृतिक कार्यक्रम मात्र होइन,

यो समय–बोध, ज्ञान परम्परा र पहिचानसँग जोडिएको पर्व हो।

त्यसैले यसको तिथि–मितिमा देखिने अन्योललाई सामान्य प्रशासनिक त्रुटिका रूपमा लिनु आफैँमा समस्या हो। 

यस वर्ष सरकारी पात्रोमा सोनाम ल्होछार माघ ५ गते उल्लेख गरिएपछि देश–विदेशका तामाङ संघसंस्था अन्योलमा परे।

कतै “सरकारी पात्रोले नै लेखे पछि माघमै कार्यक्रम गर्दा फरक पर्दैन” भन्ने तर्क आयो, कतै “हाम्रो चन्द्रपात्रोअनुसार ल्हो फेर्ने समय फागुनमै पर्छ” त्यसैले सोनाम ल्होछार यसपाली फाल्गुनमा मान्नु पर्छ भन्ने आवाज उठ्यो।

यो विवाद भावनाको होइन, खगोलशास्त्रीय यथार्थको हो।

सोनाम ल्होछार चन्द्रपात्रोमा आधारित पर्व हो।

यसको आधार सूर्य होइन, चन्द्रगति हो।

एक चन्द्र महिना करिब २९ दिन १२ घण्टा हुन्छ भने

सौर्य वर्ष ३६५ दिनभन्दा बढीको हुन्छ।

१२ चन्द्र महिनाले सौर्य वर्ष पूरा गर्न सक्दैन।

त्यही अन्तर मिलाउन मलमास (अधिक मास) थपिन्छ।

खगोलशास्त्रीय सूत्र स्पष्ट छ,

यत्र मासे संक्रान्ति  भवति सः अधिकः

अर्थात् कुनै चन्द्र महिनाभित्र सूर्यले राशी परिवर्तन नगरेमा त्यो महिना मलमास हुन्छ।

यही मलमासको व्यवस्थापनमा तामाङ/तिब्बती चन्द्रपात्रो र नेपाली सरकारी पात्रोबीच पद्धतिगत फरक देखिन्छ। सरकारी पात्रो सौर्य विक्रम संवत्लाई प्राथमिकता दिन्छ, चन्द्र पर्वहरूलाई अनुमानात्मक रूपमा समायोजन गर्छ। तर सोनाम ल्होछार जस्ता पर्वहरू यस्तो समायोजनमा अटाउने विषय होइनन्।

यस वर्षको खगोलशास्त्रीय गणनाअनुसार

ल्हो फेर्ने अमावस्या, अर्थात् ख्रे ला (पहिलो महिना)

फागुन ६ गते पर्छ। यस अर्थमा, सोनाम ल्होछारको वास्तविक तिथि माघमा होइन, फागुनमै हो।

समस्या यतिमै सीमित छैन। यदि सरकारी पात्रोमा लेखिएको मितिलाई आधार मानेर एक महिना अगावै शुभकामना आदानप्रदान र ठूलाठूला सांस्कृतिक कार्यक्रम गर्ने नजिर बसालियो भने ल्होछार सुरु हुनु अघि नै चाडको तामझाम सकिनेछ। वास्तविक ल्हो फेर्ने दिन समुदाय सांस्कृतिक रूपमा सुनसान हुने खतरा छ। यसले पर्वको आत्मा नै खोस्छ।

ग्याल्बो ल्होछार अनुसरण गर्ने समुदायले यस विषयमा एउटा स्पष्ट बाटो देखाइसकेको छ। उनीहरू सरकारी पात्रोको मितिमा होइन,आफ्नो पात्रोको तिथिमा पर्व मनाउँछन्

शुभकामना ढिला आए पनि चाडको तिथि बदलिँदैन।

अब सोनाम ल्होछारको सवालमा पनि यही स्पष्टता आवश्यक छ। समाधान सरल छ, आफ्नो चन्द्रपात्रोलाई व्यवस्थित बनाउने।सोनाम ल्होछारको पात्रो नियमित प्रकाशन गर्ने। मलमास, ल्हो परिवर्तन र तिथि स्पष्ट किटान गर्ने। समुदायका नेतृत्वदायी संस्थाहरूले समयमै सार्वजनिक सूचना दिने।

ल्होछारको प्रश्न,

केवल मिति मिलाउने विषय होइन। यो ज्ञान परम्परा जोगाउने कि गुमाउने, सांस्कृतिक स्वायत्तता स्वीकार्ने कि त्याग्ने भन्ने प्रश्न हो।

यस वर्षको खगोलशास्त्रीय यथार्थ स्पष्ट छ,

सोनाम ल्होछार फागुन ६ गते हो।

अब निर्णय हाम्रो हातमा छ, सरकारी पात्रोको भ्रम पछ्याउने

कि आफ्नै चन्द्रपात्रोको यथार्थ अँगाल्ने ?

लेख: अध्यायन अनुसन्धान विभाग, तामाङ राष्ट्रिय मुक्तिमोर्चा |