जेन्जि राजनीति, आदिवासी–जनजातिको प्रश्न र नेपालको भावी राजनीतिक कोर्स, रूपान्तरण कि पपुलिजम ?
नेपालको राजनीति अहिले निर्णायक मोडमा उभिएको छ। परम्परागत दलप्रतिको व्यापक वितृष्णा, भ्रष्टाचारको संरचनागत जरो, बेरोजगारी र वैदेशिक पलायनको विस्फोट, अनि पहिचान र प्रतिनिधित्वको दीर्घ असन्तुलन| यी सबैले नयाँ राजनीतिक शक्तिहरूका लागि अवसरको ढोका खोलेका छन्। यही सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनीतिक व्यक्तित्वहरू र उनीहरूसँग जोडिँदै गएको जेन्जि आन्दोलनलाई नेपालको भावी राजनीतिक कोर्सका सम्भावित चालकका रूपमा हेरिन थालेको छ। तर प्रश्न स्पष्ट छ, के यो ऊर्जा संरचनागत रूपान्तरणतर्फ उन्मुख छ, कि केवल पपुलिजमको नयाँ संस्करण मात्र ?
जेन्जि आन्दोलनको सबैभन्दा ठूलो विशेषता यसको असन्तोष हो। यो पुस्ता रोजगारी, अवसर, न्याय र गरिमाको खोजीमा छ। उसले पुराना नेताको भाषण, झुटा वाचा र खोक्रा राष्ट्रवादलाई अस्वीकार गरिसकेको छ। डिजिटल स्पेसमा जन्मिएको यो राजनीतिक चेतना तीव्र, निर्भीक र प्रश्नमुखी छ। तर यहीँ एउटा जोखिम पनि छ, यदि असन्तोषलाई वैचारिक दिशानिर्देशन दिइएन भने, त्यो सजिलै नारामुखी पपुलिजममा रूपान्तरण हुन सक्छ।
आदिवासी–जनजाति र वाम दृष्टिकोणबाट हेर्दा, जेन्जि आन्दोलनले उठाएका सवालहरू आंशिक छन्, तर आधारभूत रूपमा सही दिशातर्फ संकेत गर्छन्। भ्रष्टाचारविरोध, अवसरको समानता, मेरिटको कुरा, यी सबै आवश्यक हुन्। तर यी सवालहरू संरचनागत प्रश्न नछोइकन अधुरा रहन्छन्। नेपालको समस्या केवल “खराब नेता” वा “अक्षम प्रशासन” मात्र होइन, यो राज्यकै वर्गीय, जातीय र केन्द्रीकृत चरित्रको समस्या हो।
यदि जेन्जि राजनीति केवल “पुराना नेता हटाऊ, नयाँ अनुहार ल्याऊ” भन्ने सीमामा सीमित रह्यो भने, यो पपुलिजम हुनेछ। किनभने सत्ता संरचना उस्तै रहँदा अनुहार फेरिनुले उत्पीडित वर्गको जीवन बदलिँदैन। इतिहासले यही सिकाएको छ| व्यवस्था नछोई सत्ता परिवर्तन गर्नु भनेको उत्पीडनलाई नयाँ भाषामा निरन्तरता दिनु हो।
आदिवासी–जनजाति दृष्टिकोणले यहाँ अझ गहिरो प्रश्न उठाउँछ। नेपालमा राजनीतिक असमानता केवल पुस्तागत होइन, यो ऐतिहासिक र संरचनागत छ। भूमि, स्रोत, भाषा, संस्कृति र स्वशासनबाट वञ्चित गरिएका समुदायहरूलाई “सबै नागरिक बराबर” भन्ने अमूर्त भाषाले न्याय दिँदैन। जेन्जि आन्दोलनले यदि पहिचान, ऐतिहासिक अन्याय र राज्य–निर्माणको एकात्मक मानसिकतामाथि प्रश्न उठाउन सकेन भने, त्यो आन्दोलन पनि अन्तत वर्चस्ववादी संरचनाको सहायक बन्न सक्छ।
वाम/समाजवादी दृष्टिकोणबाट हेर्दा, जेन्जि राजनीतिमा वर्गीय विश्लेषणको गम्भीर कमी देखिन्छ। बेरोजगारीलाई “सीपको कमी” वा “व्यक्तिगत असफलता”का रूपमा मात्र हेर्ने प्रवृत्ति खतरनाक छ। बेरोजगारी पुँजीवादी निर्भर अर्थतन्त्रको परिणाम हो, जहाँ आदिवासी–जनजाति गाउँहरू श्रम आपूर्तिकर्ता मात्र बनाइएका छन्। यदि जेन्जि आन्दोलनले उत्पादनका साधन, भूमि सुधार, सार्वजनिक लगानी र सहकारी अर्थतन्त्रको प्रश्न उठाएन भने, यसको समाधान सतही नै रहनेछ।
तर सम्भावनालाई पूर्ण रूपमा नकार्नु पनि गलत हुनेछ। जेन्जि आन्दोलनको ऊर्जा, प्रश्न गर्ने साहस र पुरानो राजनीतिक संस्कृतिप्रतिको अस्वीकार, यी सबै सकारात्मक संकेत हुन्। यदि यही ऊर्जा आदिवासी–जनजाति आन्दोलनको ऐतिहासिक चेतना, वाम राजनीतिका संरचनागत विश्लेषण र श्रमिक वर्गको संगठनसँग जोडिन सक्यो भने, नेपालमा नयाँ प्रकारको वैकल्पिक राजनीति जन्मिन सक्छ।
नेपालको भावी राजनीतिक कोर्स त्यसैमा निर्भर छ,
जेन्जि राजनीति प्रश्नकर्तामै सीमित रहन्छ कि उत्तरदातामा रूपान्तरण हुन्छ ?
यो पपुलिजममा रमाउँछ कि संरचनागत रूपान्तरणको जोखिम उठाउँछ ?
अन्तत वास्तविक परिवर्तन कुनै पुस्ताको क्रोध वा कुनै नेताको लोकप्रियताबाट हुँदैन। त्यो तब सम्भव हुन्छ, जब उत्पीडित वर्ग, आदिवासी–जनजाति, श्रमिक, किसान र सुकुम्बासी आफ्नै एजेन्डासहित राजनीतिक प्रक्रियाको केन्द्रमा उभिन्छन्। जेन्जि आन्दोलन यदि यही केन्द्रसँग जोडिन सके, नेपालको राजनीति फलदायी रूपान्तरणतर्फ जान सक्छ। नत्र, यो पनि इतिहासमा अर्को आकर्षक तरअल्पकालीन पपुलिस्ट लहरका रूपमा मात्र सम्झिनेछ।
नेपालको भविष्य प्रश्नमा होइन, उत्तर खोज्ने साहसमा निर्भर छ।


