
तेमाल जात्रा
बौद्ध महास्तूप धार्मिक, साँस्कृतिक एवंम ऐतिहासिक महत्व र विशेषता बोकेको स्तुपा हो। सन् १९७९मा युनेस्कोले यस बौद्ध स्तूपालाई विश्व सम्पदा सुचीमा सुचिकृत गरिसकेपछि यसको गरिमा अझ बढेको छ। बौद्ध मार्गीहरुले यस स्तुपालाई झ्यारुङ खश्योर छ्योर्तेन भन्दछन। यो स्तुपको गर्बमा काश्यप बुद्धको अस्थिधातु राखिएको छ।अष्टमण्डलाकारको यो महाचैत्य नेपाली वास्तुकलाको अनुपम उदाहरणको रुपमा रहेको छ। यस महास्तुपलाई चिन्तामणिको प्रतिक मानिन्छ। नेपाल सरकारद्वारा बौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्नको साथै हुलाक टिकट प्रकाशन गरि पञ्चाङ्ग ज्योतिषदारा बार्षिक पात्रोमा उल्लेख गर्ने कार्य पनि भएको छ। प्राचिनकाल देखि तामाङ जातिहरूले मनाउँदै आएको थुप्रै चाडपर्वहरु मध्ये एउटा प्रमुख पर्व तेमाल जात्रा हो। यस जात्रामा तेमाल भेगको, साथै काभ्रेपलाञ्चोक जिल्लाको सबै तामाङहरु, तेमालको नातेदारहरु, देशैभरि छरेर बसेको तामाङहरु दिवङ्गत भएको आफ्नो परिवारको मुक्तिको लागि प्रत्येक बर्ष चैत्र शुक्ल पूर्णिमाको अघिल्लो दिन रातभर बौद्ध स्तुपामा बत्ती बाल्ने, लामा पुरोहितबाट पुजापाठ गर्न लगाउने परम्परा देखिन्छ। यसदिन काठमाडौं बौद्धनाथमा पितृहरूको मोक्षको लागि बत्ती बालि मानेहरु घुमाउँदै स्तूपको तेस्रो तल्लामा रहेको १०८ खोपालाई दहिने पारि प्रदक्षिणा गर्ने गरिन्छ। यस जात्रामा सहभागी हुँदा दिवंगत पितृहरूको मोक्ष भई अमिताभ बुद्धको लोग स्वर्ग पुग्ने र भबिस्यमा असल साखा सन्तान प्राप्त हुने एवंम मानव जिवनको बिगत, बर्तमान र भविष्य त्रिकालको उच्चस्तरीय शुभप्रभात यस जात्राले प्रधान गर्दछन भन्ने जन बिस्वास रहेको पाईन्छ। प्राचिन काठमाडौं उपत्यका ठूलो तलाउको रुपमा रहेको र त्यो समय तेमाल क्षेत्र नमोबुद्ध नगरकोट शिवपुरी पर्वत श्रृङ्खलामा अबस्थित तारकेश्वर महादेव मन्दिर निकट पाँचमाने बौद्ध फर्पिङमा तिर्थस्थल स्थापना गरि बुद्धि सत्व आर्य मन्जुश्रीले नागार्जुन पर्वत लगायत अन्य ठाउँमा काठमाडौंको तलाउ खोल्न सक्ने शक्ति प्राप्त गर्न ध्यान साधना गरि तलाउलाई चोभारको डाँडा आफ्नो तरवार बाट काटेर खोल्न सक्ने शक्ति ध्यान साधना बाट प्राप्त भए पस्चात चैत्र शुक्ल पुर्णिमाको दिन काठमाडौंको तलाउ चोभारको डाँडा आफ्नो तरवारले काटेर खोल्नु भएको थियो। तलाउ खोल्दै जाँदा अहिलेको स्वयम्भू क्षेत्रमा कमलको फुलमा अलौकिक ज्योति उत्पन्न भएकोले सोको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको बिस्वास गरिएको पाइन्छ। तलाउबाट पानी निकासी भईसके पछि काठमाडौं उपत्यकामा बस्ती योग्य भएपछि काश्यप बुद्धको उत्तरार्ध र शाक्यमुनि बुद्धको पूर्वाध ताका ग्यान ज्योति बोधि स्तुपाको रुपमा बौद्धनाथ स्तुपा निर्माण भएको मानिन्छ। यस स्तुपाको निर्माणमा तेमाल क्षेत्रको तामाङ्को उल्लेख्य संख्यामा सहभागिता राहेकोले अहिले पनि तेमालको तामाङहरु चैत्र शुक्ल पुर्णिमाको एकदिन अघि रातभरि दिबाङगात भएको अफ्नो पितृहरूको सम्झनामा दिप प्रज्वलन गरि बौद्धनाथ स्तुपामा तेमाल जात्रा सुरु गरि मनाउने परम्परा चलिआएको छ। तामाङ सेलो गितको रोचक दोहोरी गितबाट अन्तरमनको अभिव्यक्ति ब्याक्त गर्दै चैत्र शुक्ल पुर्णिमाको दिन बौद्धनाथबाट बालाजुको बाईसधारा सम्म र त्यहाँ स्नान गरी नागार्जुना बुद्धले बिपश्याना ध्यान साधना गरेको नागार्जुन खिखरमा लुङह्रि ल्हुङ्तेन जामाचो सम्म पदयात्रा गरि स्वयम्भु चैत्यको स्वयम्भु स्तुपाको दर्शन गरि पितृहरूको सम्झनामा दिप प्रज्वलन गरि अफुले सकेसम्मको दान दक्षिणा गरेर जात्रा सम्पन्न भएको परम्परा देखिन्छ । स्वयम्भू पुराणका अनुसार विपस्सी बुद्धले काठमाडौँ उपत्यकामा आएर आजकै दिन(चैत्र पुर्णिमाको दिन) कमलको फूल रोपेको प्रसंग उल्लेख गरेको पाइन्छ | यस कारण पनि यो जात्राको महत्व झन बढि रहेको पुष्टि हुन्छ |

यो जात्रा कहिलेबाट ब्यबस्थित हुदै आयो त भन्ने सवलमा जन स्रुतिलाई आधार मान्द तामाङहरुको आन्तिम राजा तेमालको राजा ह्रेन्जेन दोर्जे बलले आफ्ना जनतालाई दिवंगत आत्माको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता दिएको जनविश्वास छ।
बोद्द स्वयम्भु मेलालाई माथिका यि कारणहरु जस्ले हरेक काल खण्डमा तेमाल संग बौद्द निर्माण देखि मेलालाई ब्यबस्थित रुपमा निरन्तरता दिलाउन जोडिरहेकोले नै यस जात्राको तेमाल जत्रा नामाकरण हुदै आएको देखिन्छ |
अन्तमा तेमाल जात्राको समयमा बौद्धनाथ, बालाजुको बाईसधारा, नागार्जुन लुङ्ह्रि ल्हुङतेन,र स्वयम्भुनाथ सम्मको धार्मिक यात्रा गर्दै दिप प्रज्ज्वलन गर्द आफ्नो दिवङ्गत भएको पितृहरूको र आफ्नो पनि अर्को जन्ममा र अहिले पनि राम्रो हुने धार्मिक विश्वास रहि आएकोले देशभरि रहेको बौद्ध धर्म प्रेमीहरुलाई जात्रामा आउनु हुन अनुरोध गर्दछौ |



