समाचार

पपुलारिजम, Gen-Z आक्रोश र नेपाली राजनीतिमा वैचारिक रिक्तता

पपुलारिजम, Gen-Z आक्रोश र नेपाली राजनीतिमा वैचारिक रिक्तता

नेपालको समकालीन राजनीतिमा पछिल्ला वर्षहरूमा देखिएको पपुलारिस्ट पात्रहरूको तीव्र उभार, सामाजिक सञ्जालद्वारा सञ्चालित भाइराल राजनीति, र त्यससँगै देखा परेको Gen-Z आन्दोलनलाई केवल “नयाँ पुस्ताको आशा” वा “पुरानो राजनीतिप्रतिको विद्रोह” भनेर बुझ्नु सतही व्याख्या हुनेछ। यी सबै परिघटनाहरू मूलतः एउटै यथार्थका फरक–फरक अभिव्यक्ति हुन | नवउदारवादी पूँजीवादी व्यवस्थाले सिर्जना गरेको गहिरो राजनीतिक र वैचारिक संकट

पपुलारिजमको केन्द्रीय विशेषता भनेको वर्गसंघर्षलाई ओझेल पार्दै “जनताको नाम”मा पूँजीवादी राजनीतिलाई पुनःउत्पादन गर्नु हो। यसले श्रम र पूँजीबीचको संरचनागत अन्तर्विरोधलाई व्यक्तित्व, नैतिकता र भावनात्मक नारामा सीमित गर्छ। भ्रष्टाचार, अकार्यकुशलता र व्यक्तिगत असफलतालाई समस्याको मूल कारणका रूपमा प्रस्तुत गरिन्छ, तर राज्यको वर्गीय चरित्र, साम्राज्यवादी निर्भरता र नवउदारवादी नीतिहरू प्रश्न बाहिर रहन्छन्। परिणामत राजनीतिक असन्तोष दिशाहीन आक्रोशमा रूपान्तरित हुन्छ।

यस प्रक्रियामा भाइरालिजम नयाँ पूँजीवादी सञ्चार संरचनाको निर्णायक औजार बनेको छ। एल्गोरिदम आधारित मिडियाले विचार, कार्यक्रम र संगठनलाई होइन, दृश्य, उत्तेजना र ट्रेन्डलाई प्राथमिकता दिन्छ। राजनीति चेतनाको निर्माण होइन, उपभोग्य सामग्री बन्छ। यस वातावरणमा पपुलारिस्ट पात्रहरू छिटो उदाउँछन्, लोकप्रिय हुन्छन्, तर उनीहरूको उदयले व्यवस्था परिवर्तन होइन, उही व्यवस्थालाई नयाँ अनुहारसहित स्थायित्व मात्र दिन्छ।

यही पृष्ठभूमिमा Gen-Z आन्दोलन देखा पर्छ। यो आन्दोलन संगठित वर्गसंघर्ष वा वैचारिक रूपमा परिपक्व क्रान्तिकारी परियोजना थिएन। बरु, यो नवउदारवादी संकटमा हुर्किएको पुस्ताको नैतिक विद्रोह थियो, भविष्य खोसिएको, अवसर बन्द भएको र पुराना राजनीतिक संरचनाप्रति आक्रोशित पुस्ताको स्वाभाविक प्रतिक्रिया थियो। Gen-Z आन्दोलनले राज्य र स्थापित दलहरूको नैतिक दिवालियापन उजागर गर्‍यो, तर त्यो आक्रोशलाई वर्गीय र संरचनागत राजनीतिमा रूपान्तरण गर्ने वैचारिक नेतृत्व र संगठन अभावमा रह्यो।

प्राकृतिको स्थायी नियम – जहाँ ऊर्जा हुन्छ तर दिशा हुँदैन, त्यहाँ प्रतिनिधिहरूले त्यो ऊर्जा कब्जा गर्छन्। Gen-Z आन्दोलनबाट केही नयाँ पपुलारिस्ट पात्रहरू अगाडि आउनु त्यसैको परिणाम हो। उनीहरू आन्दोलनका सर्जक होइनन्| आन्दोलनले सिर्जना गरेको वैचारिक रिक्तताका लाभग्राही मात्र हुन्।

यहाँ नेपाली कम्युनिस्ट आन्दोलनको गम्भीर आत्मालोचना अपरिहार्य हुन्छ। जनयुद्धपछिको कालखण्डमा कम्युनिस्ट आन्दोलनले वर्गसंघर्ष र सामाजिक रूपान्तरणको राजनीतिलाई सत्ताको व्यवस्थापन सँग साट्यो। आन्दोलन सत्ताकेन्द्रित भयो, क्याडरहरू पद–प्रतिष्ठामा केन्द्रित भए, र जनजीवन सँगको जैविक सम्बन्ध कमजोर हुँदै गयो। जब कम्युनिस्ट राजनीति स्वयं पूँजीवादी राज्य सञ्चालनको “दक्ष विकल्प” बन्न पुग्छ, तब पपुलारिजमसँग हार हुनु कुनै आश्चर्य होइन।

यस संकटको प्रभाव तामाङ तथा अन्य आदिवासी समुदायमा झन् गहिरो छ। आदिवासी संघर्ष भूमि, भाषा, संस्कृति, श्रम र राज्यद्वारा गरिएको ऐतिहासिक बहिष्कारसँग गाँसिएको छ। तर पपुलारिजम र भाइरल राजनीति यी विशिष्ट उत्पीडनलाई “जनताको साझा समस्या” भनेर समतल बनाइदिन्छ। यसरी आदिवासी सवालको ऐतिहासिक संरचनागत आयाम मेटिन्छ, र उत्पीडन राजनीतिक प्रश्न होइन, व्यवस्थापनको समस्या बनाइन्छ। केही आदिवासी अनुहार देखाएर प्रतिनिधित्वको भ्रम सिर्जना गरिन्छ, तर शक्ति संरचना यथावत् रहन्छ।

अन्तत पपुलारिजम न त कम्युनिस्ट आन्दोलनको विकल्प हो, न त Gen-Z पुस्ताको आक्रोशको समाधान, न त आदिवासी मुक्तिको मार्ग। यो परिवर्तन टार्ने, जनआक्रोशलाई दिशाहीन बनाउने र शासक वर्गको प्रभुत्वलाई स्थायित्व दिने राजनीतिक शैली मात्र हो। वास्तविक निकास नयाँ अनुहार, भाइरल नाराहरू वा क्षणिक लोकप्रियतामा होइन, स्पष्ट वैचारिक आधार, संगठित शक्ति र वर्ग तथा आदिवासी उत्पीडनलाई केन्द्रमा राख्ने क्रान्तिकारी राजनीतिमा निहित छ।

Gen-Z आन्दोलनले देखाएको ऊर्जा अझै समाप्त भइसकेको छैन। प्रश्न केवल यति हो, यो ऊर्जा फेरि पपुलारिजमले कब्जा गर्छ कि, वर्ग–चेतनासहितको परिवर्तनकारी राजनीतिमा रूपान्तरण हुन्छ? यसको उत्तर नेपाली कम्युनिस्ट आन्दोलन र उत्पीडित समुदायहरूको वैचारिक पुनर्निर्माणमा निर्भर छ।

लेख : अध्यायन अनुसन्धान तथा प्रकाशन विभाग, तामाङ राष्ट्रिय मुक्तिमोर्चा