भक्तपुर। युवा गायक तथा गीतकार राकेश मोक्तानको मर्मस्पर्शी गीत “जामे आमाला थाई थाई” सार्वजनिक भएको छ। यो गीत विशेषगरी छोरीलाई विवाहपश्चात पराई घरमा परम्परागत रीतिरिवाज अनुसार विदा गर्ने तामाङ समाजको चलनलाई चित्रित गर्ने उद्देश्यले निर्माण गरिएको हो। छोरीले आफ्नो जन्मघर छोडेर सासूराली अर्थात् कर्मघर जानु परेका बेला अभिभावकले दिने मार्मिक आशिर्वाद र भावनात्मक अभिव्यक्तिलाई गीतले उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।
“जामे आमाला थाई थाई” बोलको गीत नेपाली समाजमा वर्षौंदेखि चल्दै आएको सांस्कृतिक परम्परामा आधारित छ। छोरीलाई पराई घर विदा गर्ने अभिभावकको मनोभाव, छोरीप्रतिको स्नेह, र पराई घरमा सुखद जीवनको कामनासहितको आशिर्वादलाई यस गीतले शब्द र स्वरमार्फत दर्शक तथा श्रोतासामु प्रस्तुत गरेको छ। यसले मात्र भौतिक बिदाइ नभएर अभिभावक र छोरीबीचको आत्मीय सम्बन्ध र विदाइको पीडालाई व्यक्त गर्छ।
गीतका शब्द रचना स्वयं गीतकार राकेश मोक्तानले गरेका हुन्। संगीत संयोजनको जिम्मेवारी चर्चित गायक तथा संगीतकार विश्व दोङले सम्हालेका छन्। गीतमा विश्व दोङ र सुमिना लोको सुमधुर आवाजले जीवन भरेका छन्। यी दुई कलाकारका स्वरले गीतलाई अझ भावनात्मक र जीवन्त बनाएको छ।
गीतको एरेञ्ज लोकप्रिय संगीतकार तथा संगीतकार एरेञ्जर विश्व दोङले गरेका हुन्। दोङको अनुभवी संगीत संयोजनले गीतको प्रभावकारितालाई थप बलियो बनाएको छ। गीतमा प्रयोग गरिएका सांगीतिक शैली र लय संरचना तामाङ मौलिकताको सुन्दर प्रस्तुति हो।यस् गीतको मिक्सिङ वरिष्ठ एरेञ्जर दिपेस प्रधानले गरेका हुन् ।
“जामे आमाला थाई थाई” को म्युजिक भिडियोमा गीतकार राकेश मोक्तानकै छोरी रुपा लामा र सञ्जय तामाङको वास्तविक विवाह समारोहलाई कैद गरिएको छ। यो वास्तविक घटनाले भिडियोमा थप प्रामाणिकता र भावनात्मक गहिराइ ल्याएको छ। छोरीलाई जन्मघरबाट विदा गर्दै गरेको मार्मिक दृश्यले दर्शकको हृदय छोनेछ।
गीतलाई गीतकार राकेश मोक्तानले आफ्नो आधिकारिक YouTube च्यानल “Rakesh Moktan” मार्फत सार्वजनिक गरेका छन्। गीतले सांस्कृतिक महत्वलाई प्रवर्धन गर्दै तामाङ परम्परागत मूल्यमान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरेको छ।
यो गीतले केवल मनोरञ्जन मात्र होइन, छोरीप्रतिको जिम्मेवारी, माया, र बिदाइका बेला अभिभावकको भावनालाई उजागर गर्दै समाजमा रहेको सांस्कृतिक परम्परालाई सम्झाउने कार्य गरेको छ। यसले पारिवारिक सम्बन्ध र त्यससँग गाँसिएको संस्कारको महत्त्वलाई अझ गहिरो बनाएको छ।
“जामे आमाला थाई थाई” एक सांस्कृतिक तथा भावनात्मक गीत हो, जसले नेपाली तामाङ समाजको मौलिकतालाई जगेर्ना गर्नमा महत्त्वपूर्ण योगदान दिएको छ। यसले केवल गीत मात्र नभई नेपाली समाजको गहिरो भावना र परम्परालाई पुनः स्मरण गराएको छ। दर्शक तथा श्रोताले गीतलाई अत्यधिक माया गर्ने अपेक्षा गरिएको छ।

